विशेष महाधिवेशनबारे प्रचण्डको ७ बुँदे प्रस्ताव : केन्द्रीय समिति विघटन गरी आयोजक समिति गठन गर्ने तयारी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सांगठनिक पुनर्गठन र नेतृत्वको विषयमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् ।
बिहीबारदेखि काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको सातौँ केन्द्रीय समिति बैठकमा, प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै विशेष महाधिवेशनसम्बन्धी ७ बुँदे प्रस्ताव अघि सारेका हुन्।
– हालको केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने। अध्यक्षसहित सबै पदाधिकारीहरूको संरचना तत्कालका लागि स्थगित गर्ने।
– प्रचण्ड स्वयं आयोजक समितिको संयोजक रहने ।
– नेतृत्व निर्माण, हस्तान्तरण र संस्थागत प्रक्रियालाई अघि बढाउने आधार तय गर्ने।
– सांगठानिक रूपान्तरणलाई महाधिवेशनमार्फत टुंगोमा पुर्याउने।
– नयाँ पुस्तालाई अघि ल्याउने उद्देश्यअनुरूप महाधिवेशनलाई प्रयोग गर्ने।
– पार्टीभित्र गहिरो छलफलमार्फत साझा समझदारीमा निर्णयमा पुग्ने।
– “पदलोलुपता मेरो स्वभाव होइन”
बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पदको लालसा नभएको तर जिम्मेवारीबाट अहिले हट्ने पक्षमा नभएको स्पष्ट पारे।
“जिम्मेवारीबाट पन्छिने बिल्कुलै सोचिएको छैन, तर पदलोलुपता मेरो नेचर हैन,” उनले भने, “म नै हुनैपर्छ भन्ने जिद्दी छैन, तर राष्ट्र, क्रान्ति र पार्टीका लागि अन्तिमसम्म लड्ने प्रतिज्ञा गर्दछु।”
प्रचण्डले नेतृत्व हस्तान्तरणको आवश्यकतालाई स्वीकार गर्दै त्यसका लागि न्यूनतम सहमति र प्रक्रियागत मार्ग खोजिनुपर्ने बताए।
नेतृत्व विवाद र जवाफी प्रस्ताव
हालै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वको आलोचना गर्दै प्रचण्डको राजीनामा माग गरेका थिए। उनले विशेष महाधिवेशनको माग गर्दै नेतृत्व परिवर्तनको अभियान थालेका थिए।
प्रचण्डले त्यसको जवाफस्वरूप असोज ५ गतेको पदाधिकारी बैठकमा केन्द्रीय समिति भंग गरी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए।
आजको केन्द्रीय समिति बैठकबाट उक्त प्रस्तावलाई अनुमोदन गराई प्रचण्डकै संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने तयारी भइरहेको छ।
