प्रचण्ड कार्यकारी नेतृत्वबाट बिदा होऊन्, मलाई जिम्मेवारी दिनुहोस् : नारायणकाजी श्रेष्ठ
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी भूमिकाबाट बिदा लिन आग्रह गरेका छन् ।
बिहीबार सुरु भएको केन्द्रीय समिति बैठकमा लिखित विचारपत्र प्रस्तुत गर्दै, श्रेष्ठले महाधिवेशनसम्मका लागि आफूजस्तै दोस्रो वरीयताका नेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव राखेका हुन्।
श्रेष्ठ माओवादी केन्द्रको दोस्रो वरीयताका नेता हुन्। उनले यसअघि असोज ५ गते बसेको पदाधिकारी बैठकमा पनि प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरिसकेका थिए।
सम्मानपूर्वक जिम्मेवारी हस्तान्तरणको माग
श्रेष्ठले प्रचण्डलाई पार्टी र आन्दोलनप्रति योगदानको सम्मान गर्दै कार्यकारी भूमिका हस्तान्तरण गर्नुपर्ने बताएका छन्।
“अध्यक्ष कमरेडको कार्यकारी नेतृत्वबाट बिदाइ उहाँको सम्मान कायम राख्दै, वैचारिक, निर्देशनात्मक र अभिभावकीय भूमिकामा निरन्तरता दिनुपर्छ,”
श्रेष्ठले लेखेका छन्, “यो प्रक्रिया अध्यक्षकै स्वीकृति र सहमतिमा अगाडि बढ्नुपर्छ।” श्रेष्ठका अनुसार, पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिन अहिले नै कदम चालिनु आवश्यक छ।
जेनजी आन्दोलन र सार्वजनिक धारणा
श्रेष्ठले हालैको जेनजी आन्दोलन र बदलिँदो राजनीतिक परिवेशले पार्टीभित्र नेतृत्व परिवर्तनको आवश्यकता औंल्याएको दाबी गरे।
“तीन दशकदेखि एउटै व्यक्ति प्रमुख भूमिकामा रहनु नकारात्मक सन्देश दिन थालेको छ,” उनले भने, “प्रतिस्पर्धात्मक लोकतान्त्रिक समाजमा यस्तो लामो नेतृत्वको निरन्तरताले सार्वजनिक धारणा कमजोर बनाउँछ।”
श्रेष्ठका अनुसार, जनताको बीचमा पार्टीको अपिल कायम राख्न नेतृत्वको रूपान्तरण र सन्देश दिनु अपरिहार्य छ।
कार्यवाहक अध्यक्षको प्रस्ताव
उनले महाधिवेशनसम्मको लागि दोस्रो वरीयताका नेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव राख्दै, यसलाई संस्थागत प्रक्रिया अन्तर्गत अघि बढाउनु उपयुक्त हुने बताए।
“महाधिवेशनमा निर्णय हुने भए पनि त्यसको सन्देश अहिले नै दिनुपर्छ,” श्रेष्ठले भने, “त्यसैले कार्यवाहक अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरिनुपर्छ।”
