विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय कार्यान्वयनमा लैजाने प्राधिकरणको तयारी
काठमाडौं । अर्बौं रुपैयाँ बराबरको विद्युत् बक्यौता असुल गर्न नेपाल विद्युत् प्राधिकरण (नेविप्र)ले बोर्ड बैठक डाक्ने तयारी गरेको छ। ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहणसँगै विद्युत् बक्यौता उठाउने पहिलो निर्णय गरेका थिए, जसलाई कार्यान्वयनमा लैजान प्राधिकरण अगाडि बढेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबार वा मंगलबारभित्र बोर्ड बैठक बस्ने जानकारी दिए। “बक्यौतासम्बन्धी मन्त्रीज्यूको निर्देशनअनुसार हामी कार्यान्वयनमा जान्छौं । मन्त्रीज्यू नै बोर्ड अध्यक्ष हुनुहुन्छ, निर्णय भएपछि तुरुन्तै बक्यौता उठाउन थालिन्छ,” शाक्यले बताए।
उनका अनुसार, बोर्डको निर्णयपछि बक्यौता उठाउन कुनै प्रशासनिक अड्चन नहुनेछ। विगतमा कार्यकारी निर्देशकको रूपमा कुलमान घिसिङकै कार्यकालमा बक्यौता असुलका लागि उद्योगीहरूको विद्युत् लाइन काट्ने निर्णयसमेत गरिएको थियो। तर, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र त्यसपछि केपी शर्मा ओलीले ती निर्णयमा हस्तक्षेप गर्दै काटिएको लाइन पुनः जडान गर्न निर्देशन दिएका थिए।
नेपाल विद्युत् प्राधिकरणले विशेषतः डेडिकेटेड र ट्रंकलाइन प्रयोग गर्ने उद्योगी तथा सार्वजनिक क्षेत्रबाट झन्डै २५ अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ।
लोडसेडिङको समयमा उद्योगीहरूलाई २४ घण्टा बिजुली दिइएको भए पनि प्रयोग नगरिएको विद्युत्को समेत बिल आएको भन्दै कतिपय उद्योगीहरूले बिल तिर्न अस्वीकार गर्दै आएका छन्। यद्यपि प्राधिकरणले यस विषयमा पुनः कडाइ गर्ने संकेत दिएको छ।
शाक्यले भने, “अब बोर्डबाटै स्पष्ट निर्णय गरेर बक्यौता असुल गरिनेछ। सरकारको निर्णयको पूर्ण पालना हुनेछ।”
