सिंहदरबारमा जेनेजी आन्दोलनका घाइतेहरूको प्रदर्शन, सुधन गुरुङमाथि आन्दोलन बदनाम गरेको आरोप

काठमाडौं । जेनेजी आन्दोलनका घाइतेहरूले आइतबार सिंहदरबार अगाडि गरेको विरोध प्रदर्शनले दिनभर वातावरण तनावग्रस्त बनाएको छ। सुरूमा प्रवेश नपाएका उनीहरू सिंहदरबारको दक्षिण गेटबाहिर धर्नामा बसेका थिए। आलो घाउ बोकेर आएका उनीहरूको हातमा अस्पतालको रिपोर्ट थियो, केही बैशाखीको सहारामा हिँडिरहेका थिए ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग बाहिरै भेट गरेका थिए। त्यसपछि प्रधानमन्त्री कार्यालयअगाडि उनीहरूले “अवसरवादी मुर्दावाद” लगायतका नाराहरू लगाउँदै विरोध जनाए। उनीहरूको आरोप थियो— जेनजी आन्दोलनमा साँच्चै घाइते र पीडितहरूको सट्टा सुधन गुरुङसहित केही व्यक्तिहरूले आन्दोलनको नाममा व्यक्तिगत फाइदा उठाउँदै सरकार गठनमा प्रभाव जमाएका छन्।

प्रधानमन्त्री कार्यालयअगाडि मिडियासँग बोल्दै एक युवती आन्दोलनका क्रममा खुट्टामा गोली लागेको घाउ देखाउँदै भइन्। उनले मृतक र घाइते परिवारलाई बेवास्ता गरेर केही व्यक्तिले झुटा आधारमा नेतृत्वको दाबी गर्दै आन्दोलनलाई बदनाम पारेको आरोप लगाइन्। विशेषतः सुधन गुरुङमाथि आन्दोलनलाई बदनाम गर्ने भूमिका खेलेको आरोप ती घाइतेहरूको थियो।

उनीहरूले आन्दोलनको वास्तविक पीडितहरू अस्पतालमा हुँदा केहीले ‘नेतृत्वको दाबी’ गरेर राज्यसंग सम्झौता गर्ने कार्य गरेको भन्दै असन्तुष्टि जनाएका थिए। नाराबाजी चर्किएपछि प्रहरी हस्तक्षेपमा आएर केही प्रदर्शनकारीलाई भ्यानमा हालेर स्थानबाट हटाइएको थियो।