जेन जी आन्दोलनमा भएको क्षतिको विवरण चाँडै सार्वजनिक गरिने : मन्त्री कुलमान घिसिङ
पुनर्निर्माणका लागि ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन हुने
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेन जी आन्दोलनको क्रममा देशभर भएको क्षतिको औपचारिक आंकडा चाँडै सार्वजनिक गरिने बताएका छन् ।
बुधबार अपराह्न क्षतिग्रस्त संघीय संसद् भवनको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री घिसिङले आन्दोलनले काठमाडौं मात्र नभई देशैभरि ठूलो भौतिक क्षति पुर्याएको बताएका हुन्।
“यो क्षति काठमाडौंमा मात्र सीमित छैन, देशैभरि असर परेको छ,” उनले भने, “त्यसको मूल्यांकनको प्रक्रिया अन्तिम चरणमा छ र चाँडै सार्वजनिक गरिनेछ।”
मन्त्री घिसिङका अनुसार, सरकार क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापनमा लागेको छ। साथै, देशभर पुनर्निर्माणलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने तयारी भइरहेको उनले जानकारी दिए।
“पुनर्निर्माणका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गरिनेछ,” मन्त्री घिसिङले भने, “देश–विदेशमा रहेका नेपालीहरूले पनि समृद्ध राष्ट्र निर्माणमा योगदान दिन सकून् भन्ने उद्देश्यसहित यो अभियान अघि बढाइनेछ। आवश्यकता परेमा सरकारले थप सहयोगको व्यवस्था पनि गर्नेछ।”
