पूर्वराष्ट्रपतिभण्डारीको एमाले प्रतिनिधिलाई सन्देश : प्रत्यक्ष भेट नभए पनि भेटेजस्तै मानेकी छु

काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन नपाए पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिहरूलाई भावनात्मक रूपमा आफू सँगै रहेको बताएकी छिन् ।

शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको महाधिवेशनमा सहभागिता नपाएपछि उनले पत्र र भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गरेकी हुन्। उनले एक समाचार एजेन्सीमार्फत जारी भिडियो सन्देशमा भनिन्, “यहाँहरूलाई प्रत्यक्ष भेट्न नपाए पनि मैले भेटेजस्तै मानेकी छु।”

भण्डारीले नेकपा एमालेसँग आफ्नो उद्देश्य सधैं एउटै रहेको उल्लेख गर्दै पार्टीका प्रतिनिधिहरूलाई भावनात्मक र संगठनात्मक रूपमा अघि बढ्न आग्रह गरिन्।

उनले भनिन्, “पार्टीले मलाई राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाएर पठाएको हुनाले म राष्ट्रिय जिम्मेवारीमा रहेँ। त्यतिबेला भेटघाट कम हुनसक्छ, तर हाम्रो साझा उद्देश्य कहिल्यै फेरिएको छैन।”

भण्डारीले केही दिनअघि पठाएको पत्रको उल्लेख गर्दै प्रतिनिधिहरूलाई त्यसलाई ध्यानपूर्वक अध्ययन गर्न अनुरोध गरिन्।

“मैले हिजोमात्रै आफ्ना विचारहरू पत्रमार्फत राखेकी छु। तपाईंहरूले पढ्नुभएको होला भन्ने विश्वास लिएको छु। त्यसमा तपाईंहरूको सल्लाह र सुझावको पनि अपेक्षा गरेकी छु,” उनले भनिन्।

भण्डारीले नेकपा एमालेको काँधमा देशको ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै, त्यो जिम्मेवारी सफलतापूर्वक वहन गर्न सबै प्रतिनिधिहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरिन्।

पूर्वराष्ट्रपति भण्डारी एमालेको विधान महाधिवेशनमा सहभागी हुने चर्चा भइरहे पनि पार्टी सचिवालयको निर्णयले त्यसमा रोक लगाएको थियो।
सचिवालय बैठकले पार्टी सदस्यता नवीकरण नभएको व्यक्तिले विधान महाधिवेशनमा भाग लिन नसक्ने निर्णय गरेपछि भण्डारीलाई प्रतिनिधिका रूपमा समावेश गरिएको थिएन।

पार्टीका अनुसार, सदस्यता दिन या नदिनु केन्द्रिय कमिटीको अधिकारक्षेत्रभित्र पर्ने भएकाले पूर्वराष्ट्रपतिको सहभागिता एजेन्डा बन्न नसकेको जनाइएको छ।

भण्डारीको सन्देश :

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा उपत्यकामा उपस्थित हुनुभएका देशभरका सम्पूर्ण महाधिवेशन प्रतिनिधि कमरेडहरूलाई उपत्यकामा स्वागत गर्न पाउँदा खुसी लागेको छ । यहाँहरूको काठमाडौं बसाइ सरल र सुखद रहोस् । जुन उद्देश्यले यहाँहरू काठमाडौं आउनुभएको छ, यहाँहरूको कार्य सफल रहोस् । म पनि लामो समयसम्म यहाँहरूसँग सँगसँगै रहेँ । तर, बीचमा पार्टीले मलाई राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाएर पठाएको हुनाले राष्ट्रिय जिम्मेवारीमा रहेँ । त्यतिबेला हाम्रो भेटघाटहरू कम भएको हुनसक्छ । तथापि हाम्रो उद्देश्य एउटै हो । हामी सधैँ सँगै नै छौं । यहाँहरूलाई मैले प्रत्यक्ष भेटघाट गर्न नपाए पनि मैले भेटेसरह नै मानेको छु ।

मैले यहाँहरूलाई हिजोमात्रै पत्रमार्फत आफ्ना विचार राखेको छु । यहाँहरूले अध्ययन गर्नुभएकै होला । यहाँहरूको उपयुक्त सल्लाह, सुझाव पनि अपेक्षा गरेको छु,’ भण्डारीले थप भनेकी छिन्, ‘नेकपा एमालेको काँधमा देशको ठूलो जिम्मेवारी छ । त्यो पूरा गर्न यहाँहरू भावनात्मक र संगठनात्मक हिसाबले अघि बढ्नुस् । म पनि सधैँ यहाँहरूकै साथमा हुनेछु । धन्यवाद ।