सुनुवाइ समिति सभापतिमा रामहरि खतिवडाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्।

यसअघि निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान राख्ने क्रममा छलछाम भएको ठहर गर्दै संसदीय छानबिन समितिले खतिवडालाई जिम्मेवार ठहर गरेको थियो। त्यसलगत्तै उनले तत्कालीन राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका थिए।

राजीनामा दिएपछि उनलाई संसदीय सुनुवाइ समितिको सदस्य बनाइएको थियो। त्यसैक्रममा तत्कालीन सुनुवाइ समिति सभापति इश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापतिमा ल्याइएपछि उक्त पद रिक्त थियो।

अब भने फेरि न्यौपाने पुरानै जिम्मेवारीमा फर्केकी छन् र खतिवडालाई पुनः संसदीय सुनुवाइ समितिको सभापति बनाउने प्रक्रिया सुरु गरिएको हो।