सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत, पुनर्विचार गर्न सरकारलाई गगन थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति आपत्ति जनाएका छन्। उनले उक्त निर्णय गलत भएको भन्दै सरकारलाई पुनर्विचार गर्न आग्रह गरेका छन्।

थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “सरकारले सामाजिक सञ्जालको विषयमा लिएको निर्णय गलत छ। सरकार उल्टो बाटोमा हिँडेको छ, यसलाई पुनर्विचार गर्नुपर्छ।”

उनले सर्वोच्च अदालतको आदेशको हवाला दिँदै सामाजिक सञ्जाल बन्द गर्नेभन्दा आवश्यक कानुनी संरचना निर्माण गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गरे। “सर्वोच्च अदालतले अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन र नियमनका लागि कानुनी व्यवस्था गर्न भनेको हो, प्लेटफर्म नै बन्द गर्न भनेको होइन,” थापाको भनाइ छ।

उनका अनुसार सामाजिक सञ्जालले आजको दिनमा नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता उपयोग गर्न, सार्वजनिक बहसमा भाग लिन र सरकारलाई जवाफदेही बनाउने महत्वपूर्ण माध्यमको भूमिका निर्वाह गरिरहेको छ। साथै, सामाजिक सम्बन्ध, उद्यमशीलता र डिजिटल अर्थतन्त्रसँग समेत यसको गहिरो सम्बन्ध रहेको उनको तर्क छ।

थापाले सञ्जाल बन्द गर्ने कदमले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारमाथि प्रत्यक्ष असर पार्ने भन्दै साइबर सुरक्षा जस्ता संवेदनशील विषयमा पनि विवेकपूर्ण र सन्तुलित निर्णय आवश्यक रहेको बताए।

उनको माग छ — “सरकारले यो निर्णय पुनः विचार गरोस्, सामाजिक सञ्जालको दुरुपयोग रोक्न र सुरक्षित बनाउने उद्देश्यले छिटो सम्बन्धित कानुन निर्माणमा तदारुकता देखाओस्।”