गोंगबुमा लुकाइएको करिब ४ करोड र गरगहना सहित ७७ वर्षीय घरधनी पक्राउ

काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरबाट करिब ४ करोड रुपैयाँ नगद र सुनका गरगहना बरामद भएपछि ७७ वर्षीय घरधनी विनोदकुमार श्रेष्ठ पक्राउ परेका छन्।

उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले प्राप्त सूचनाका आधारमा छापा मारेर श्रेष्ठको घरबाट करिब ३ करोड ७५ लाख रुपैयाँ नगद र केही परिमाणमा सुन बरामद गरेको हो।

श्रेष्ठले सो अवैध रकम आफ्नै घरमा लुकाइराखेको खुल्न आएको प्रहरीले जनाएको छ। तर ती रकम कहाँबाट आएको र के प्रयोजनका लागि राखिएको भन्ने विषयमा भने अनुसन्धान जारी रहेको छ।

श्रेष्ठले सुनका गहना धितो लिएर विभिन्न व्यक्तिलाई मिटर ब्याजमा रकम दिएको खुलेको हो। काठमाडौँ उपत्यका प्रहरीमा विशेष सूचना आएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो।

श्रेष्ठको स्थायी घर गोरखामा रहेको पनि प्रहरीले जानकारी दिएको छ। उनीमाथि अवैध सम्पत्ति भण्डारणको आरोपमा अनुसन्धान अगाडि बढाइएको छ।