प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच महत्वपूर्ण र उपलव्धीमुलक भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार चीनको तियान्जिनमा भएको भेटवार्तालाई एउटा महत्वपूर्ण र उपलव्धीमुलक रुपमा लिइएको छ ।

शांघाई सहयोग संगठन (एससीओ) बैठकले जुराएको भेटमा दुई नेताबीच करिब २५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो भने सरकारी टोलीसहित करिब पौने घण्टा छलफल भएको थियो ।

भेटवार्ता औपचारिक मात्र नभएर सम्बन्ध विस्तार र नीतिगत स्वतन्त्रताको महत्व बोकेको कदम छ । यो भेटले शैक्षिक, सांस्कृतिक र कूटनीतिक आधारमा दुई देशको सम्बन्धलाई थप गहिराइ दिइएको देखिन्छ ।

दुई नेताबीचको भेटवार्तामा नेपाल–रुस ५६ वर्षे सम्बन्धको स्मरण र भविष्यको साझा योजनाबारेमा छलफल भएको छ । पुटिनले ओलीलाई नेपालको रुससँग कूटनीतिक सम्बन्ध १९५६ मा स्थापित भएको थियो र ७०औँ वार्षिकोत्सव भव्य रुपमा मनाउने बताए । पुटिनको यो भनाइले दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्वन्धहरू र भावी सहकार्यको बाटो खोल्ने संकेत गरिएको छ ।

पुटिनले अन्तर्राष्ट्रिय एजेण्डाका मुख्य विषयहरूमा नेपाल र रुसबीच “कूटनीतिक रूपमा धारणा समान” रहेको र “कसैमा कहिल्यै समस्या नआएको बताए ।

ओलीले नेपालमा शिक्षा, स्वास्थ्य क्षेत्रमा रुसबाट अध्ययन गरेर फर्किएका विद्यार्थी र स्वास्थ्यकर्मीहरूको योगदानको चर्चा गरेका थिए । प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो दिँदै भने “१९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल–रुस सम्बन्ध सधैं मैत्रीपूर्ण र समुधर रहँदै आएको छ । तर के कारणले हो, म भन्न सक्दिनँ, अहिलेसम्म रुसबाट विशेष गरी उच्चस्तरीय नेतृत्वको नेपाल भ्रमण भएको छैन । नेपालतर्फबाट भने म स्वयं सन् १९९९ र सन् २००० मा रुस भ्रमणमा गएको थिएँ । ती अवसरमा मलाई मस्को, सेंट पिटर्सबर्गजस्ता ऐतिहासिक शहरहरूको भ्रमण गर्ने र रूसी सभ्यता–संस्कृति नजिकबाट बुझ्ने अवसर प्राप्त भएको थियो । त्यतिबेला नै मैले थाहा पाएँ कि पाँच हजारभन्दा बढी नेपाली विद्यार्थीहरू रसियाका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका छन् । आज पनि नेपालमा धेरै चिकित्सकहरू रुसमा अध्ययन गरेर फर्किएका छन्, उनीहरु जनताको उपचारमा समर्पित छन् ।”

प्रधानमन्त्री ओलीको सो भनाइपछि राष्ट्रपति पुटिनले आफूले अनुकुल समयमा नेपालको भ्रमण गर्ने र नेपालबाट हुने भ्रमणका लागि स्वागत गर्न तयार रहेको बताए । पुटिनले रुसमा पढेर फर्किने नेपालीहरूलाई “दोस्तीका सेतु” भन्दै रुसले शिक्षा तथा संस्कृतिमा सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।

पुटिनले भनेका छन् “तपाईंको यो विचार र प्रस्ताव अनुसार हामी नेपाल भ्रमण गर्नेबारे सोच्नेछौं । साथै, तपाईंलाई अनुकुल हुने कुनै पनि समयमा हामी तपाईंलाई पनि रूसमा स्वागत गर्न सधैं तयार छौं । तपाईंलाई थाहा होला, जब मानिसहरू कुनै देशमा पढ्न जान्छन्, जस्तै मानौं रूसमा, उनीहरू जब फर्कन्छन्, सधैं राम्रा सम्झनाहरू लिएर जान्छन् । वा भनौं रूसको सम्झना लिएर फर्कन्छन् । यस्ता मानिसहरू आफ्नो मातृभूमि वा भनौं नेपाल–रूसबीचको सम्बन्धको सेतु जस्तै हुन्छन् । मानवीय सहयोगको दृष्टिले हामी शिक्षालगायत संस्कृति क्षेत्रको निरन्तर सम्पर्कमा गम्भीर ध्यान दिन्छौं, र हामी यो सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी हुनेछौं । तपाईंले भन्नुभयो, नेपालका विभिन्न क्षेत्रका मानिसहरू रूसमा शिक्षा लिन इच्छुक छन् । हामी तपाईंको साथमा शिक्षा क्षेत्रमा सबैभन्दा चासो लाग्दा र सम्भावनायुक्त क्षेत्रहरू पत्ता लगाउनेतर्फ सहकार्य गर्नेछौं । हामी अन्य मानवीय सहयोगका क्षेत्रमा पनि ध्यान दिन सक्छौं । मलाई विश्वास छ कि रूसी जनताले नेपाली मूर्तिकलालाई हेर्न धेरै चासो दिनेछन् । हो, हामी यसबारे पनि सोच्न सक्छौं ।”

प्रधानमन्त्री ओलीसँगै भ्रमण टोलीमा रहेका एक सरकारी अधिकारीले रुस–नेपाल हवाइ उडान सिधै गर्नेगरी प्रधानमन्त्रीओलीले प्रस्ताव गरेको बताउँदै दुई देशबीचको सम्बन्ध अझै विस्तार गर्नेगरी अघि बढ्ने बारेमा छलफल भएको जानकारी दिएका छन् ।

दुई नेताबीचको संवादले नेपाल–रुस सम्बन्धलाई केवल औपचारिक नभई भावनात्मक र स्थिर रहेको विश्वास दिलाएको छ । स्वास्थ्य, शैक्षिक, सांस्कृतिक तथा विकाससँग जोडिएका नयाँ दिशाहरू खुल्ने सम्भावना बढेको छ ।

यो रुस–नेपालको उच्चस्तरिय भेटवार्ता र भ्रमणले नेपाललाई दक्षिण एशियामा थप कूटनीतिक आयाम ल्याउन सहयोग पुर्‍याउन सक्छ । पुटिनको सम्भावित नेपाल भ्रमणले यसलाई अझ विकास गर्ने संकेत दिएको छ ।