बूढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताहरूबीच तीन घण्टा के भयो छलफल ?

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका चार शीर्ष नेताहरूबीच करिब तीन घण्टा लामो बैठक बसेको छ। बैठकमा कांग्रेसभित्रका प्रमुख आन्तरिक विषयहरूमा विस्तृत छलफल भएको छ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, छलफल क्रियाशील सदस्यता विवाद, म्याद थपिएका भ्रातृ संस्थाहरूको महाधिवेशन, र आगामी १५औँ महाधिवेशनको तयारी केन्द्रित थियो।

बैठकमा हालैको सरकारको कार्यसम्पादनबारे पनि समीक्षा गरिएको जनाइएको छ। साथै, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई छानबिन समितिले नैतिक जिम्मेवार ठहराएको विषयमा पनि सामान्य चर्चा भएको स्रोतले जनाएको छ।

सूत्रका अनुसार, महामन्त्रीद्वय थापा र शर्मा सरकारप्रति असन्तुष्ट देखिएका छन्। यही सन्दर्भमा, गृहमन्त्री रमेश लेखकले बिहीबार साँझ ती दुई महामन्त्रीसँग होटलमा डिनर मिटिङ गरेर कुरा मिलाउने प्रयास गरेका थिए।