नेपालको ऐतिहासिक उपलब्धि : एक वर्षमै साढे १७ अर्ब रुपैयाँको विद्युत् निर्यात

काठमाडौं । विद्युत् व्यापारमा नेपालले ऐतिहासिक सफलता हात पारेको छ। सरकारले वैदेशिक बजारमा बिजुली निर्यात बढाउने रणनीति अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ मा भारत र बंगलादेशमा गरी १७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको छ ।

नेपाल विद्युत प्राधिकरण (नेपाल विद्युत् प्रा.) का अनुसार, सो अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको बिजुली बिक्री गरिएको हो।

ऊर्जा मन्त्री दिपक खड्काका अनुसार, यो उपलब्धि नेपालको ऊर्जा कूटनीति र आर्थिक समृद्धिको दिशामा महत्वपूर्ण कोशेढुङ्गा सावित भएको छ। उनले भने, “यो उपलब्धिले नेपाललाई खुद आयातकर्ता देशबाट खुद निर्यातकर्ता देशमा रूपान्तरण गरेको छ।”

गत वर्ष भारतबाट करिब १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्युत् आयात भए पनि, हाल आयात घट्दै गएको र निर्यात उल्लेखनीय रूपमा बढेको देखिन्छ।

विद्युत् निर्यात अहिले भारतमै सीमित छैन। बंगलादेशसँग भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले हाल ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरिरहेको छ। यो निर्यात प्रति युनिट ६.४० अमेरिकी सेन्ट दरमा भइरहेको छ र आगामी दिनमा थप विस्तार हुने सम्भावना छ।

वर्षायाममा उत्पादन बढ्ने भएकाले भारतीय ऊर्जा बजारको डे-अहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धात्मक दरमा विद्युत् निर्यात गर्दा नेपाललाई ठूलो लाभ मिलेको प्राधिकरणको भनाइ छ।

हाल नेपालले भारतका विभिन्न राज्यहरूमा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको छ। यसका लागि ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन र बेहरामपुर–भेडामारा लाइनमार्फत विद्युत् भारत हुँदै बंगलादेशसम्म पु-याइएको हो।