सरकार भ्रष्टाचारमै रमायो भने सडकमा उत्रिन्छौं : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै त्यसविरुद्ध आन्दोलनको चेतावनी दिएका छन्। उनले सरकारले आफ्नो चरित्र नफेरो भने सडकबाटै प्रतिवाद गर्न बाध्य हुने स्पष्ट पारे ।

बिहीबार ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले देश संवैधानिक, गणतान्त्रिक, सुशासन र समृद्धिका दृष्टिकोणले जटिल मोडमा रहेको बताए।

उनले भने, “अहिलेको सरकार जहाँ पुग्छ, त्यहीँ भ्रष्टाचार देखिन्छ। यो सरकार सुशासनको विपक्षमा खडा भएको छ र देशलाई असफलतातर्फ धकेलिरहेको छ।”

प्रचण्डले कार्यक्रममा वाइसिएल नेपाललाई श्रम र उत्पादनसँग जोडिएर सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सक्रिय हुन निर्देशन दिए।

उनका अनुसार वाइसिएलले सञ्चालनमा ल्याएको श्रम अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग प्रत्यक्ष जोडिएको छ। “यो अभियान उत्पादन ब्रिगेड को निरन्तरता हो,” उनले स्पष्ट पारे।

वाइसिएल नेपालले देशभर ५५ स्थानबाट यो अभियान प्रारम्भ गरिसकेको जानकारी पनि कार्यक्रममार्फत दिइएको थियो।

अन्त्यमा, अध्यक्ष प्रचण्डले जनताको भावना बेवास्ता गर्दै सरकार यथावत् भ्रष्टाचारमै लिप्त रहिरहे अब आन्दोलन अपरिहार्य हुने चेतावनी दिए। “हामी खबरदारी गरिरहेका छौं, तर सरकार नसच्चिए सडकमा उत्रनु अर्को विकल्प रहँदैन,” उनले भने।