पूर्वगृहमन्त्री लामिछानेमाथि वर्तमान गृहमन्त्री लेखकले लगाए भिजिट भिषा दूरुपयोगको आरोप
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएका प्रतिनिधिमण्डलका सदस्यहरू नफर्किएको विषय संसद्मा उठाइरहेका बेला गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछाने स्वयंले भिजिट भिसाको दुरुपयोग गरेको पुरानो प्रसंग सम्झाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले लामिछाने विगतमा संयुक्त राज्य अमेरिका भिजिटरको रूपमा गएका विषयमा प्रश्न उठाउँदै जानकारी माग गरे।
“रवि लामिछानेज्यू, जो यस सम्मानित सदनका सदस्य पनि हुनुहुन्थ्यो, कुनै समय अमेरिका भिजिटरको रूपमा जानुभएको थियो भन्ने सुनेको छु,” मन्त्री लेखकले भने, “भिजिटर भन्नाले भिजिट भिसा नै हो। उहाँ त्यही भिसामा गएका हो भने, त्यसबारे प्रस्ट पार्न अनुरोध गर्छु।”
उनले थप प्रश्न गर्दै भने, “यदि भिजिट भिसामै गएर त्यही देशको नागरिकता लिइयो भने, के त्यो भिसाको दुरुपयोग मानिन्न? अनि यस्ता दुरुपयोग गर्ने नेताका कार्यकर्ताले अरूलाई नैतिकताको पाठ पढाउन मिल्छ?”
गृहमन्त्री लेखकले भने, “नैतिकताको प्रश्न अरूबाट मात्र अपेक्षा गर्ने कि पहिले आफूबाट नै थालनी गर्ने? म यो कुरा आजसम्म उठाएको थिइनँ, तर अहिले केही साथीहरू गलत दिशा तर्फ जान थालेपछि स्मरण गराउनुपर्यो।”
उनको यस्तो टिप्पणी रास्वपामाथि तीखो राजनीतिक कटाक्षका रूपमा हेरिएको छ।
