महाधिवेशन २०८३ मंसिरअघि सम्पन्न गर्नुपर्ने : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशन २०८३ सालको मंसिरपछि सार्न नहुने स्पष्ट पारेका छन्।

सोमबार सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकको अन्तिम दिन बोल्दै थापाले संविधान र विधानअनुसार २०८३ मंसिरअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए। “८३ मंसिरसम्म पनि नपु¥याई सकेसम्म छिटो महाधिवेशन गर्‍यौं भने पार्टीले स्थानीय निर्वाचनको तयारीका लागि आन्तरिक काम गर्न सक्नेछ,” उनले भने।

थापाले महाधिवेशनको विषयमा नेताहरूबीच द्विविधा देखिएको भन्दै आपत्ति जनाए। “कोही महाधिवेशन गर्ने पक्षमा, कोही नगर्ने पक्षमा भन्ने भ्रम सिर्जना गरिन्छ। तर हामीमध्ये कोही पनि त्यसको विपक्षमा छैनौं,” उनले स्पष्ट पारे।

उनले विगतमा महाधिवेशनको कार्यतालिका तय भएलगत्तै क्रियाशील सदस्यता विवादको विषय उठ्ने गरेको स्मरण गराउँदै यसपटक भने विधानअनुसार प्रक्रिया अघि बढाइएको बताए।

क्रियाशील सदस्यता नवीकरणप्रति विशेष ध्यान दिन आग्रह

क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजकसमेत रहेका थापाले सदस्यता नवीकरण कार्यमा सबै नेता र कार्यकर्तालाई सक्रिय बन्न आग्रह गरे। उनले उदाहरणस्वरूप आफ्नो क्षेत्र काठमाडौं–४ मा सदस्यता नवीकरण पहिले नै सम्पन्न भइसकेको उल्लेख गरे।

“नेताहरूले कम्तीमा आफ्नो निर्वाचन क्षेत्रमा सदस्यता नवीकरण कति भयो भन्नेमा चासो देखाउनुपर्छ,” उनले भने।

थापाले नयाँ सदस्यता वितरणका लागि जिल्लागत प्रतिशत तोक्ने क्रममा समुदाय, मतदाता संख्यासहित नवीकरणको अवस्था हेरेर निर्णय गरिने जानकारी पनि दिए। “सबैभन्दा बढी नवीकरण चितवनमा भएको छ। अब संघीय निर्वाचनको परिणामसमेत हेरेर वितरण गर्न सकिन्छ,” उनले भने।

महाधिवेशनबारे अफवाह नगरौं

महाधिवेशनको मिति वा प्रक्रिया तय नभएको भन्दै थापाले त्यसबारे गैरजिम्मेवार अभिव्यक्ति नदिन पार्टी नेताहरूलाई आग्रह गरे। “महाधिवेशनबारे केही पनि तय भइसकेको छैन भन्ने भ्रम नफैलाऔं,” उनले भने, “यदि ठ्याक्कै के हुने भन्नेबारे छलफल आवश्यक छ भने सभापति वा नेतृत्वसँग औपचारिक संवाद गर्न सकिन्छ।”