रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने, मनाङ-ख मा निर्णय बाँकी

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार आयोगले सो दिन उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

२०७९ सालको आमनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचित सांसद दीपक बोहराको निधनपछि यो क्षेत्र प्रतिनिधिविहीन बनेको हो ।

यसैबीच, मनाङ प्रदेशसभा क्षेत्र ‘ख’ का विषयमा भने आयोगले अझै निर्णय गरेको छैन । आयुक्त भण्डारीका अनुसार सो क्षेत्रका सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भए पनि त्यससम्बन्धी औपचारिक जानकारी आयोगमा नआएकाले निर्णय गर्न बाँकी छ ।

निर्वाचन आयोगले मनाङ–‘ख’ मा पनि उपनिर्वाचन गराउनुपर्ने जनाएको छ ।