पक्राउ परे सांसद चौधरी
काठमाण्डौ – नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले बाँकेबाट आज पक्राउ गरेको छ । सार्वजनिक सम्पत्तिमा आगजनी गरेको अभियोगमा अदालतले यसअघि गरेको फैसला कार्यान्वयनको लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलालीको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरीलाई १० वर्षअघि ट्र्याक्टरमा आगो लगाएको अभियोगमा जिल्ला अदालतले छ महिना कैद र आठ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको थियो । फैसलापछि केही समय फरार रहेका चौधरीलाई प्रहरीले खोजी नगर्दा उनी खुल्ला राजनीतिमा आएर सांसद बनेका थिए । उनी गत मंसिरमा भएको आम निवार्चन मार्फत सांसद चुनिएका थिए ।
