प्रभुरामले सम्हाल्दै सेनाको कमाण्ड

सेनापति थापाको कार्यकालमा के–के भयो काम ?

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा अबको एक महिनामा अवकाशमा जाँदैछन् । अवकाश पाउनुभन्दा एक महिना अघि घर बिदामा बसेर उत्तराधिकारीलाई कार्यवाहक जिम्मेवारी दिने सैन्य परम्परा अनुसार भोलिबाट सेनापति थापा घरविदामा वस्दैछन् ।
प्रधान सेनापति थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई भोलि जंगी अड्डामा आयोजित समारोहमा बुझबुझारथ गरेर घर बिदामा बस्ने सैनिक प्रवक्ता (सहायकरथी) सन्तोषबल्लभ पौड्यालले बताएका छन् । सरकारको निर्णय
अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई कायम मुकायम सेनापतिको जिम्मेवारी दिइसक्नु भएको छ । १ महिना कायम मुकायम भएर काम गर्ने शर्माले भदौ २४ देखि नेपाली सेनाको ४४ औं प्रधान सेनापतिको कमाण्ड समाल्ने छन् ।
पूर्णचन्द्र थापाले तीन वर्षमा सम्झन लायक धेरै काम गरेका छन् । ४३ औं प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै थापाले ‘आन्तरिक सुधार’ गर्ने पहिलो जिम्मेवारी भएको घोषणा गरेका थिए । सो अनुसार सैनिक अनुशासन, नैतिकता र आचरणको सवालमा कठोर निर्णय लिएका थिए । अनैतिक काम गर्ने जर्नेललाई समेत बर्खास्त गरेर थापाले संगठनको नीतिविरुद्ध काम गर्ने कसैलाई पनि छुट नहुने सन्देश दिएका थिए ।
भ्रष्टाचार बिरुद्ध ‘शुन्य सहनशिलता’को नीति अंगालेका थापाले भ्रष्टाचारमा संलग्न भएको आरोपमा उपरथी (पाइलट) सुधिर श्रेष्ठ, सहायकरथी प्रयाग शम्शेर र शुरेन्द्र बरसिंह रावल सहित १० जना सैनिक अधिकृतलाई कारवाही गरेका थिए । प्रधान सेनापतिले कारवाहीको डण्डा चलाउन थालेपछि कैयनले जागिर छाडेका थिए भने ३ वर्षका अवधिमा ३ सय ४५ जना सैनिक अधिकारीमाथि कारवाही भएको छ ।
आन्तरिक सुदृढीकरणमा थापाले गरेको यो शुरुवातलाई निरन्तरता दिन जिम्मेवारी शर्माको काँधमा आएको छ । उनले निरन्तरता दिन्छन् दिँदैनन् त्यो भने भविष्यमा देखिन्छ ।
थापाले आन्तरिक व्यवस्थापनसँगै राष्ट्रिय चुनौती, सैन्य कूटनीतिलगयातमा आफ्नो ध्यान केन्द्रित गरेका थिए ।
थापाको कार्यकालमा सैनिक संगठन ८ पृतनाबाट ३ प्लस एकको संरचनामा गएको छ । राष्ट्रिय सुरक्षालाई मजबुद बनाउन त्यस्तो संरचना बनाइएको बताइएको छ ।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने जिम्मेवारी नेपाली सेनाको रहन्छ ।
प्रधान सेनापति थापाको कार्यकालमा सेनाको अधिकृत क्याडेट र सैन्य भर्नामा हुने गरेका आर्थिक अपचलन र भनसुन रोकिएको दाबी गरिएको छ । भर्ना छनोट कार्यमा संलग्न १५५ जना सकल दर्जालाई विगत दुई वर्षको अवधिमा कारवाही गरिएको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।
त्यस्तै २०७५ बाट सेनामा ‘शान्ति सेना छनौट कार्यविधि’ लागु भएको छ । प्रधान सेनापतिले कार्यविधि लागु गरेर गलत प्रथा र प्रचलनलाई अन्त्य गरेर युएन मिसनमा सैनिकलाई समान अवसर दिने प्रयासको थालनी गरेका छन् । नेपाली सेनामा कार्यरत सवै सकल दर्जालाई कम्तिमा एकपटक शान्ति सेनामा सहभागी गराउने उद्देश्य सहित थापाले कार्यविधि लागु गरेका हुन् ।
नक्कली सर्टिफिकेट छानबिन र उमेर घटाएर किर्ते नागरिकता बनाउनेहरूमाथि पनि थापाले कैंची चलाएर राम्रो शुरुवात गरेका छन् ।
त्यस्तै नेपाली सेनामा खाना पकाउने इन्धनको रुपमा विगत लामो समयदेखि मट्टीतेल प्रयोग गरिन्थ्यो । खाना पकाउन सहज र भान्सामा काम गर्नेहरुको स्वास्थ्यमा ध्यान दिँदै थापाले सेनाका हरेक पल्टनको ब्यारेकमा आजभोलि खाना पकाउन एलपी ग्याँसको प्रयोग गरिन थालेको छ भने सेनाको भान्सामा पहिलोपटक शाकाहारी रासनको ब्यवस्था गरिएको छ । शाकाहारी सैनिकका लागि च्याउ, पनिर र फलफूलको रासन स्केल कायम गरिएको छ । प्रत्येक ब्यारेकमा वाटर ट्रिटमेन्ट प्लान्ट ब्यवस्था गरिएको छ ।
पूर्णचन्द्र थापाले आन्तरिक सुधारलाई मजबुद बनाउन ‘सैनिक आचार संहिता–२०७६’ लागु गरेका छन् । थापाले आन्तरिक सुधारमा गरेको राम्रो सुरुवातलाई निरन्तरता दिँदै राष्ट्रिय सुरक्षामा थपिएका चुनौतीसँग मुकाविला गर्नुपर्ने दायित्व प्रभुराम शर्माको काँधमा आएको छ ।