नाकाबन्दीमा सीमामा बसेर ढुंगा हान्ने महतो उपप्रम !
काठमाडौं । जनता समाजवादी पार्टीले उठाएका माग सरकारले आंशिक रूपमा पुरा गरेको छ । यही अवस्थामै सो दलको महन्थ ठाकुर–राजेन्द्र महतो समूह गत शुक्रवार राती नेकपा एमाले नेतृत्वमा रहेको ओली सरकारमा सहभागी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म जसपाका आधा माग मात्र सम्बोधन गरेका छन । ठाकुर–महतो पक्षले सरकारसँग मुख्य गरी ५ वटा माग अगाडि सारेको थियो ।
उनीहरुको पहिलो मागको रुपमा रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता विधेयक, संविधान संशोधन र मधेस आन्दोलनका क्रममा नेता तथा कार्यकर्ताहरुलाई लगाइएको झुटा मुद्दा खारेज हुनुपर्ने रहेका छन । यी मध्ये उनीहरुका १८ वटा मुद्दा फिर्ता लिने निर्णय सरकारले यसअघि नै पुरा गरिसकेको छ भने अझै पुरा हुने क्रममा रहेको बताइन्छ । माग पुरा नहुँदै सरकारमा जानको लागि उक्त समुहलाई किन हतारो भयो भन्ने किसिमका बिषयहरु पनि उठिरहेका छन । सत्ताको भोको रहेको उक्त समुह मधेशको मुद्दालाई भ¥याङ बनाएर सत्ता केन्द्रित राजनीति गर्दै आएको अहिले आएर पुष्टि भएको राजनीतिका जानकारहरु बताउँछन ।
बर्तमान सरकारले भरखरै अध्यादेशमार्फत जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने गरी अधयादेश ल्याएको छ । यसपछि उत्साहित भएको सो समुह माग क्रमश पुरा हुने देखेर नै सरकारमा सहभागि भएको बताइन्छ । तर यसअघि पनि ओली सरकारमा सहभागि भइसकेको उपेन्द्र यादव समुह भने आफना माग पुरा गर्न नसकेको भन्दै सरकारबाट बाहिरिएको थियो । अहिले पनि ओलीले त्यही व्यवहार गर्ने यादव समुहको दावी छ ।
यसअघि उपेन्द्र यादव पक्ष करिब १८ महिना सरकारमा बसेर बाहिरिएको थियो । ओली सरकारलाई दुइतिहाइको समर्थनको लागि मात्र उ सरकारमा गएको भन्ने भान उसलाई यतिवेला परिरहेको छ । सरकारबाट बाहिरिएपछि आजका दिनसम्म ओली र यादवबीच सम्बन्ध राम्रो बन्न सकिरहेको छैन । यादव सरकारमा गएको बेला तत्कालीन राष्ट्रिय जनता पार्टीका नेता ठाकुर र महतो ओली सरकारका कडा आलोचक र बिरोधी थिए । तर अहिले ठाकुर र महतोको बोली फेरिएको छ । उनीहरू ओली सरकारको सहयात्री बनेका मात्र छैनन कि भरपर्दा मित्र बनेका छन । उनीहरुलाई यसरी मिलाउन मुख्य भुमिका भारतीय दुतावासले खेलेको बताइएको छ ।
०७२ सालमा भारतले नेपालमा आर्थिक नाकाबन्दी गर्दा रक्सौलमा बसेर नेपाल र नेपाली जनताका बिरुद्ध घात गरेका उनै महतोलाई यतिवेला ओलीले काखी च्यापेर उपप्रधानमन्त्रीसहित शहरी बिकास मन्त्रालयको जिम्मेवारी दिएका छन । त्यतिमात्र होइन उक्त समुहको नेतृत्व गर्दै महतो ओली सरकारका बलिया सारथि बनेर उभिएका छन । उता यादव भने ओली सरकारविरुद्ध विपक्षी दलहरूसँग मोर्चाबन्दी गर्दैछन् । त्यसो त ओली प्रधानमन्त्रीमा नियुक्ति हुँदा तत्कालीन राजपाले पनि उनलाई समर्थन गरेको थियो । तर त्यसको ६ महिनापछि नै समर्थन फिर्ता लिएर राजपाले आन्दोलनमा जाने घोषणा गरेको थियो ।
