नेकपा अध्यक्षद्वयवीचको विवाद विद्यार्थीसम्म आइपुग्यो
काठमाडौं । सत्तारूढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालवीचको विवाद चर्किदै गएको छ । दुई अध्यक्षका पक्षमा नेताहरु दुई समूहमा विभाजित भए जस्तै विद्यार्थी नेताहरु समेत विभाजित भएर गुटको भेला गर्न थालेका छन् ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुको आज काठमाडौंमा भेला गरेका छन् । पार्टीभित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग विवाद भैरहेको बेला प्रचण्ड–नेपाल समुहका विद्यार्थी भेलामा जुट्नले पार्टी फुट्ने पूर्वतयारी हो कि भन्ने चर्चा शुरु भएको छ ।
ओलीनिकट रहेका विद्यार्थी संयोजक ऐन महरले एकहप्ता अघि काठमाडौंको मदन भण्डारी कलेजमा आफू पक्षको भेला गरेको भन्दै प्रचण्ड–नेपाल पक्षले शुक्रवार भेला राखेको नेकपाको विद्यार्थी संगठन अनेरास्ववीयूका सचिवालय सदस्य विजय गौतमले बताएका छन् ।
गौतमले एकताका विरुद्धमा संयोजक महर समूहले देशव्यापी अभियान चलाएका कारण आम कार्यकर्तामा परेको भ्रम चिर्नका लागि आफूहरुले भेला गरेको दाबी गरेका छन् ।
काठमाडौंको थापाथली क्याम्पसमा सुरु भएको भेलामा प्रचण्ड–नेपाल पक्षका नेताहरु अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल, पार्टी केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, अनेरास्ववियुका उपाध्यक्ष रञ्जित तामाङलगायत विद्यार्थी नेता उपस्थिति थिए ।
