ईस्मा हुलमा सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई नेपाली काँग्रेस गुल्मीको आर्थिक सहयोग
यहि मंसिर १२ गते गुल्मीको ईस्मा गाउँपालिका–४दोहोलीको हुलमा भएको सवारी दुर्घटनामा परि ज्यान गुमाएका परिवारलाई नेपाली काँग्रेस गुल्मीले शोक प्रकट गर्दै आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सोही दुर्घटनामा परि ज्यान गुमाउनुभएका पूर्व वडाअध्यक्ष डम्बर बहादुर हितान, नेपाली सेनामा कार्यरत शिव बहादुर दर्लामी, धन बहादुर अछामी, वसन्त बहादुर दर्लामी, फर्सुराम थापा, सुन्दरी थापाको घर दैलोमा पुगेर नेपाली काँग्रेस गुल्मीले शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै मृतकका परिवारलाई रु ६० हजार क्रियाखर्च समेत हस्तान्तरण गरेको छ ।
नेपाली काँग्रेस गुल्मीको तर्फबाट सभापति भुवन प्रसाद श्रेष्ठले मृतकका परिवारलाई प्रतिपरिवार रु १० हजारका दरले क्रियाखर्च प्रदान गर्नुभएको थियो । शोक सभामा नेपाली काँंग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी, जिल्ला सदस्य चन्द्र बहादुर महत, क्षेत्रिय सभापति भगतसिंह खड्का, नेपाली काँग्रेस जागरण कार्यदल इस्माका संयोजक कृष्ण प्रसाद रिजाल, इस्मा गाउँपालिका –१ का वडाअध्यक्ष चुरा बहादुर खत्री, नेपाली काँग्रेस दोहोलीका सभापति मन बहादुर दर्लामी, इस्मारजस्थलका सभापति बिष्णु घिमिरे, लगायतको उपस्थिति रहेको थियो ।
गुल्मी काँग्रेसले सवारी दुर्घटनास्थलको अनुगमन समेत गरेको छ । त्यस क्रममा सडकको कमजोर संरचना, अन्यत्रका सडक चाडपर्वको अवसरमा मर्मत सम्भार गरिएपनि हुलका सडकहरुको अवस्था बर्खायाममा जस्तै कमजोर रहेको पाईएको छ । स्थानीय सरकारले हालसम्म ती सडकको स्तोन्नती तथा संरचना सुधारमा उदासिनता देखाएको.भन्दै गुल्मी काँग्रसले खेद समेत प्रकट गरेको छ ।
दुर्घटनास्थलको अनुगमन गर्दै सभापति श्रेष्ठले यसतर्फ सम्बन्धित निकायको अबिलम्ब ध्यान जान जरुरी रहेको बताउनुभयो । यस्ता घटनाहरुलाई अन्य शोभाविक मृत्युका घटनासँग नजोड्न आग्रह गर्दै दुर्घटना न्यूनिकरणका लागि तदारुक्ता देखाउनुपर्ने उल्लेख गर्नुभयो । स्मरण रहोस गत वर्ष मंसिर १७ गते सोही वडाका १६ जनाले पनि सवारी दुर्घटनामै परि अकालमा ज्यान गुमाउनु परेको थियो ।