गुल्मीमा काँग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्यो

गुल्मीमा पछिल्लो समय काँग्रेसमा प्रवेश गर्नेहरुको लहर बढेको छ । विभिन्न पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गर्नेहरुको संख्यामा वृद्धि भएको हो । समाज परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याएका उनीहरुले आफु आवद्ध पार्टीमा भएका गतिविधिहरुप्रति चरम असन्तुष्टि जनाउँदै काँग्रेसले अगाँलेको समाजवादको सिद्धान्तमा एकताबद्ध भएका हुन् ।

सोही सिलसिलामा जिल्लाको कालिगण्डकी गाउँपालिकामा तत्कालिन नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष सहित दजनौँ युवाहरु काँग्रेसमा प्रवेश गरेका हुन् । अन्य पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका युवाहरुलाई मंगलबार नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, उपसभापति बिष्णु प्रसाद बलाल, सचिव खिलध्वज पन्थी, सहसचिव गोपाल प्रसाद पाण्डेले स्वागत गर्नुभएको हो ।

यस्तै जिल्ला सदस्य एंव कालिगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापा, जिल्ला सदस्य प्रकाश भलामी, क्षेत्र नम्बर एक प्रदेश ‘क’ सभापति तथा सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल लगायतका नेताहरुले उनीहरुलाई काँग्रेस पार्टीमा स्वागत गर्नुभएको थियो ।

त्यस अवसरमा पार्टीमा नयाँ प्रवेशीहरुलाई स्वागत गर्दै सभापति श्रेष्ठले वर्तमान् सरकार केबल भष्ट्रचार र काण्डैकाण्डमा चुर्लुम्म डुबेकाले आततायी हुँदै यतिबेला पश्चिमको अग्लुङ्ग र पूर्वको अर्बेनीबाट कांग्रेस प्रवेशीहरुको लहर बढेको बताउनुभयो ।

सभापति श्रेष्ठले भन्नुभयो ‘सुखमा सबैले साथ दिन्छन् । तर दुखमा साथ दिने बिरलै हुन्छन् ।काँग्रेस यतिबेला प्रतिपक्षमा छ ।’ यस्तो अवस्थामा वर्तमान सरकारबाट आततायी हुँदै काँग्रेसले अगाँलेको समाजवादको दिशामा अघि बढ्ने साहस गरेको पार्टीले सधैँ स्मरण गर्ने बताउनुभयो । सभापति श्रेष्ठले नयाँ प्रवेशीहरुलाई बीपीले परिकल्पना गरेको समाजवादको बाटोमा विचल्लित नभई एकाकार हुन आग्रह समेत गर्नुभयो ।

उपसभापति बलालले काँग्रेस सधैँ सत्यको बाटोमा हिडेको बताउनुभयो । चुनावमा गरेका वाचालाई सत्तामा पुगेपछि विर्सने परिपाटीको अन्त्य हुन आवश्यक रहेको उल्लेख गर्दै उपसभापति बलालले वर्तमान सरकारको नेतृत्व गरेको पार्टीले चुनावको बेला जनतामाझ गरेका वाचा बिर्सदैँ गएको आरोप लगाउनुभयो । उहाँले काँग्रेसले झुटको खेती नगर्ने समेत स्पष्ट पार्नुभयो ।

काँग्रेस गुल्मीका सचिव पन्थीले काँग्रेस सधैँ गरिब, दलित अन्याय, अत्याचार, भष्ट्रचारका विरुद्ध लड्ने पार्टी भएको बताउनुभयो । कांग्रेस सधैँ देश र जनताको पक्षमा काम गर्ने पार्टी भएको उल्लेख गर्दै सचिव पन्थीले भन्नुभयो ‘अहिले जनता भोकसँग लडिरहेका छन् । रोगले प्रताडित छन् । सरकारले उनीहरुको आवाज सुन्दैन् । महसुस गदैन् ।’ सचिव पन्थीले भन्नुभयो ‘काँग्रेसले भोकाहरुको पेट भर्न चाहान्छ । गरिब, दुखि, रोगीको सारथी बन्न चाहान्छ ।’

त्यस अवसरमा कालीगण्डकी गाउँपालिकाको केन्द्र पूर्तीघाटमा नेपाली काँंग्रेसको पार्टी कार्यालयको उद्घाटन गरिएको छ । सभापति श्रेष्ठले नेपाली काँग्रेस कालीगण्डकी पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो । नेपाली काँग्रेस कालीगण्डकी गाउँपालिका संयोजक निम बहादुर श्रीसको सभापतित्व, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का उपसभापति जगदिश भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन क्षेत्रिय सचिव सन्तोष गौतमले गर्नुभएको थियो ।