नागरिकता संशोधन विधेयकमा राखियो पुरुषलाई पहिलो दर्जामा, महिला दोस्रो

काठमाडौंः संविधान जारी हुनुअघि जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई सरकारले वंशज नागरिकता दिने भएको छ ।

२०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिक मानिने व्यवस्था गर्न सरकारले नागरिकता ऐन संशोधन विधेयक हिजो (बुधबार) संसद्‌मा दर्ता गरेको छ ।

साउन २२ गते संसदमा दर्ता भएको नागरिकतासम्बधी संशोधन विधेयकले भने पुरुषलाई पहिलो र महिलालाई दोस्रो दर्जाको नागरिक बनाएको छ।

संशोधन विधेयकमा बुबाको नागरिकता भए सिधै नागरिकता प्राप्त गर्न सकिन्छ तर आमाको नामको नागरिकता लिएर गएमा बुबाको समेत नागरिकता चाहिने ब्यवस्था उल्लेख छ ।

कुनै महिलाले सन्तानलाई नागरिकता दिलाउन चाहिन् भने उनको नागरिकताले मात्र पुग्ने छैन। पतिको नागरिकता पनि चाहिने देखिएको छ ।

विधेयकमा आमाको नामबाट नागरिकता बनाउँदा बाबुको नाम र पहिचान अनिवार्य कबुल गर्नु पर्नेछ। जबकी बाको नामबाट नागरिकता लिँदा आमाको पहिचानको प्रमाण आवश्यक पर्दैन।

नेपाली आमाबाट जन्मेको, नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई समेत वंशजकै आधारमा नागरिकता दिइने भएको छ । ‘निजको बाबुको पहिचान हुन नसकेको पुस्ट्याइँसहित निज वा निजका आमाले स्वघोषणा गर्नुपर्ने हुन्छ’ विधेयकमा भनिएको छ । तर बाबु विदेशी नागरिक भएको ठहरिए त्यस्तो व्यक्तिले वंशजका आधारमा लिएको नागरिकता रद्द हुनेछ । बाबुको नामबाट विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको घोषणा गरे त्यस्ता व्यक्तिको नागरिकतालाई अंगीकृतमा परिणत गरिने प्रावधान विधेयकमा छ ।

विगतमा वंशज वा जन्मका आधारमा बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नागरिकता दिन लागिएको हो । राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने गरी ऐन संशोधन गर्न लागिएको हो ।

तर नागरिकता पाउन पाँच आधार पूरा गर्नुपर्ने हुन्छ । नागरिकता पाएपछि मतदानमा सहभागी हुनेबाहेकका अधिकार पाउने गरी ऐन संशोधन गर्न लागिएको हो ।