गोल्छालाई अध्यक्ष बन्ने बाटो खुला
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कात्तिक २९ गते हुने भनिएको विशेष साधारण सभा नहुने भएको छ । साधारणसभा नहुने भएसँगै महासंघको अध्यक्ष बन्न हाल वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छालाई बाटो खुल्ला भएको छ । हालको विधानमा उद्योग वाणिज्य संघ सदस्यको ५० प्रतिशत, एसोसिएट ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत मताधिकार रहेको छ ।
वस्तुगत संघले आफूहरुको मताधिकार कम भएको भन्दै बढाउन माग गर्दै आएका छन् । महासंघका बिशिष्ट सदस्य चण्डीराज ढकाल संयोजक रहेको मस्यौदा समितिले पनि वस्तुगत संघ सदस्यहरुको मताधिकार प्रतिशत वृद्धि गर्ने सुझाव दिएको बताइएको छ ।
उद्योग वणिज्य संघ जुन जिल्ला तथा नगर तहमा रहेका छन, तिनीहरुको मताधिकार ५० प्रतिशत रहेको सो स्थानमा ढकालको सम्बन्ध पनि राम्रो रहेकोले उनी महासंघमा समेत शक्तिशाली रहेको बताइन्छ । वस्तुगत तर्फबाट महासंघको उपाध्यक्ष भएका उमेशलाल श्रेष्ठ आफूहरुले हाल २० प्रतिशत रहेको मतभार ३० प्रतिशत पु¥याउनुपर्ने बताउँदै आएका छन् ।
मुख्य माग वस्तुगत संघको मताधिकार प्रतिशत वृद्धि गर्नु रहेको उनले बताए । तर बिशेष साधारण सभा नै नहुने भएपछि यो माग उनीहरुले उठाउनुको औचित्य पनि समाप्त भएको छ । विधान संशोधन मस्यौदामा पनि उक्त विषय उल्लेख भएको छ । तर यति नै प्रतिशत थपघट गर्ने विषय भने उल्लेख छैन ।’
एसोसिएट र वस्तुगततर्फका कार्यकारिणी सदस्यहरुले यो विषयलाई जोड दिए पनि विधानको हरेक बुँदा परिर्वतन गर्नको लागि हालको व्यवस्थाअनुसारको ६१ प्रतिशत मत आवश्यक छ । विशेष साधारणसभाको लागि अर्को मुख्य विषय भनेको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष गराउने वा अध्यक्ष निर्वाचित गर्ने भन्ने नै थियो । तर हालको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । यही प्रावधानमा नै महासंघका पदाधिकारीमा मुख्य मत भिन्नता देखिदै आएको थियो ।
महासंघले पूर्वअध्यक्ष तथा हालका विशिष्ट सदस्य ढकालको नेतृत्वमा गठन गरेको विधान संशोधन समितिले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान संशोधन हुनुपर्ने सुझावसहितको मस्यौदा तयार गरेको थियो । समितिले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्दा महासंघको गरिमा बढ्ने हुँदा अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट गर्न उपयुक्त देखिएको कारणसमेत पेश गरेको थियो ।
ढकाल नेतृत्वको संशोधन समितिले महासंघको विधान संशोधनका लागि ३५ बुँदाको संशोधन प्रस्ताव कार्यसमितिलाई पठाएको थियो ।
तर वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र निवर्तमान अध्यक्ष पशुपति मुरारकाले स्वतः अध्यक्ष हुने प्रावधानलाई आफूअनुकूल प्रयोगमा ल्याउन नहुने बताउँदै आएका छन् ।
हालकी अध्यक्ष भवानी राणा पनि सोही व्यवस्थाअनुसार स्वतः अध्यक्ष भएको र उनको समयदेखि नै यो व्यवस्था परिवर्तन गर्नु भनेको शंकास्पद रहेको गोल्छा र मुरारका बताउँछन् । उनीहरुले महासंघले स्थिर नीति अपनाउनुपर्ने र दीर्घकालीन सोच राख्नुपर्ने वकालत गर्दै आएका छन् ।
हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष बन्न नदिन चलखेल भएको गोल्छा निकट व्यवसायीहरुको तर्क छ । व्यवसायी कृष्णप्रसाद दुलालले अहिलेको विधान संशोधन गोल्छालाई अध्यक्ष बन्न नदिन ठूलो खेल भएको बताउँछन् । उनले अरु कुरामा विधान संशोधन भएपनि शेखर गोल्छालाई अध्यक्ष हुन नदिने गरी विधान संशोधन नहुने दाबी गरेका थिए । उनको दावी अहिले आएर उपयुक्त रहेछ भन्ने कुराको पुष्टि भएको छ ।