सर्वोच्चका चार न्यायाधीश सिफारिसमा सपना प्रधान मल्लको फरक मत
काठमाडौं । न्यायपरिषद् सदस्य तथा सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च अदालतका चार न्यायाधीश सिफारिस गर्ने निर्णयमा असहमति जनाउँदै फरक मत राखेकी छन्।
न्यायाधीशहरूको नाम छनोट गर्दा विधि, प्रक्रिया र वस्तुपरक आधारलाई बेवास्ता गरिएको भन्दै प्रधानले फरक राय लेखेको न्यायपरिषद्का एक सदस्यले बताएका छन्।
ती सदस्यका अनुसार प्रधानले चारवटा आधार प्रस्तुत गर्दै सिफारिसप्रति असहमति जनाएकी हुन्।
पहिलो, संविधान, कानुन तथा न्यायका मूल्यमान्यताविपरीत हुने गरी नाम सिफारिस गर्न खोजिएको उनको धारणा थियो। दोस्रो, सिफारिसका क्रममा पारदर्शी, वस्तुपरक र विश्वासिलो आधार प्रस्तुत गर्न नसकिएकोमा उनले प्रश्न उठाएकी छन्।
त्यसैगरी, लामो समयदेखि जिल्ला न्यायाधीशका रूपमा कार्यरत तथा ज्येष्ठताक्रममा रहेका न्यायाधीशलाई पन्छाएर अन्य व्यक्तिलाई छनोट गर्नु अपरिपक्व र विवादरहित हुन नसक्ने उनको राय थियो।
चौथो, सिफारिसमा अधिकतम समावेशिताको प्रयास नभएको तथा कानुन व्यवसायी समुदाय र नेपाल बार एसोसिएसनलाई पूर्ण रूपमा बेवास्ता गरिएको प्रधानको असहमति थियो।
न्यायपरिषद्का ती सदस्यका अनुसार प्रधानले आधारबिनै नाम छनोट गरिए आफू सहमत हुन नसक्ने भन्दै छुट्टै राय लेखेकी हुन्।
प्रधानको फरक मतका बाबजुद न्यायपरिषद्का बाँकी सदस्य भने एकमत भएर सर्वोच्च अदालतका लागि चार न्यायाधीशको नाम सिफारिस गरेको ती सदस्यले बताए।
