एमालेको निष्कर्ष : चौतर्फी हमलाको प्रतिकार गर्न नसक्दा निर्वाचनमा पराजित भयौँ

काठमाडौं । नेकपा (एमाले) ले पार्टीविरुद्ध भएको चौतर्फी हमलाको प्रभावकारी प्रतिकार गर्न नसक्दा निर्वाचनमा पराजित हुनुपरेको निष्कर्ष निकालेको छ।

असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि केन्द्रीय कार्यालयले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)–३ मा निर्वाचन परिणामको समीक्षा गर्दै यस्तो निष्कर्ष सार्वजनिक गरिएको हो।

अपानीमा निर्वाचन परिणामले पार्टीलाई गहिरो चोट पुगेको उल्लेख गर्दै सिट संख्यामा आएको कमी मात्र नभई गाउँ–गाउँका कार्यकर्ताको मनोबल र जनतासँगको सम्बन्धमा समेत प्रश्न उठेको जनाइएको छ।

युवाहरूले पार्टीको धारणा सुन्नुअघि नै आफ्नो धारणा बनाइसकेको, एमालेको इतिहास, योगदान र उपलब्धिलाई ओझेलमा पारिएको पनि अपानीमा उल्लेख छ।

एमालेले निर्वाचन परिणामबाट उत्पन्न अवस्थालाई निराशाको रूपमा नलिई त्यसलाई संकल्प, शक्ति र सक्रियतामा बदल्नुपर्ने जनाएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणामको नैतिक जिम्मेवारी आफूले स्वीकार गरेको अपानीमा उल्लेख छ। तर, एमालेविरुद्ध चौतर्फी हमला भएको र त्यसको आवश्यक प्रतिकार गर्न नसकिएको ओलीको निष्कर्ष छ।

अपानीमा ओलीको भनाइ उद्धृत गर्दै भनिएको छ, ‘हामीले बैरीको चौतर्फी हमलाको आवश्यक प्रतिकार गर्न र त्यसलाई पराजित गर्न सकेनौँ।’

ओलीले जनतासम्म पार्टीका कुरा प्रभावकारी रूपमा किन पुग्न सकेनन्, शासनमा रहँदा जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तनको अनुभूति पर्याप्त रूपमा किन दिन सकिएन तथा युवाको बेचैनीलाई आफूहरूले बुझेको विश्वास किन दिलाउन नसकिएको भन्नेजस्ता प्रश्न पार्टीभित्रै उठेको बताएका छन्।

त्यसैगरी संगठनका कतिपय तह सुस्त हुनु र डिजिटल युगमा पार्टीको आवाज कमजोर हुनुका कारणबारे समेत समीक्षा गर्नुपर्ने अपानीमा उल्लेख छ।

यस्ता प्रश्नबाट भाग्नुभन्दा समाधान खोजेर अघि बढ्नुपर्नेमा जोड दिँदै एमालेले आगामी दिनमा पार्टी संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने संकेत गरेको छ।