देश आतंकको छायामुनि चलेको र सरकार स्वेच्छाचारी बनेको एमाले अध्यक्ष ओलीको आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार स्वेच्छाचारी र दमनकारी बन्दै गएको आरोप लगाएका छन्। उनले देश अहिले भय र त्रासको वातावरणमा चलिरहेको टिप्पणी गरेका छन्।
बुधबार एमालेको राष्ट्रिय भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सरकार असंवैधानिक तथा गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोप लगाए। विगतमा हिंसात्मक गतिविधि, आगजनी, लुटपाट र तोडफोडमार्फत लोकतान्त्रिक तथा संवैधानिक व्यवस्था कमजोर बनाइएको भन्दै उनले त्यस्ता गतिविधिलाई वैधानिकता दिन निर्वाचनको मञ्चन गरिएको दाबी गरे।
सरकार दमनकारी र प्रतिशोधी व्यवहारमा उत्रिएको भन्दै ओलीले देश फासिवादतर्फ उन्मुख भइरहेको टिप्पणी गरे।
‘अहिले देश राजनीतिक रूपमा एउटा आतंकको छायामुनि, भय र त्रासको वातावरणमुनि, असंवैधानिक, गैरकानुनी क्रियाकलापहरूको पेलाईमा स्वेच्छाचारी शासनको अन्तर्गत देश चलिरहेको छ,’ उनले भने, ‘फासिवादतर्फ दमनकारी, प्रतिशोधी व्यवहार अगाडि बढिरहेको छ।’
ओलीले देशको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था कमजोर बन्दै गएको दाबी गरे। सरकारले ठूलो रकम सञ्चित गरेर राखे पनि पीडित जनताले राहत पाउन नसकेको उनको आरोप छ।
‘आर्थिक हिसाबले देश लगातार अधोगतितर्फ गइरहेको छ। सामाजिक हिसाबले सामाजिक मूल्य मान्यता खस्किरहेका छन्। समाज अत्यन्तै उल्टो बाटोतिर धकेलिँदै गएको छ,’ उनले भने, ‘सांस्कृतिक हिसाबले हाम्रो भाषा, संस्कृति र सभ्यतामाथि चर्को हमला भइरहेको छ।’
सरकार जनताप्रति उत्तरदायी नभएको आरोप लगाउँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था पनि बिग्रँदै गएको बताए। अस्पतालमा उपचार नपाउँदा महिलाहरू सडकमा प्रसव गर्न बाध्य हुनुपर्ने अवस्था रहेको उनको भनाइ थियो।
अध्यक्ष ओलीले आफ्नो पार्टी पुनः सरकारको नेतृत्वमा पुग्ने दाबी गरेका छन्। ओलीले एमाले जनताको समर्थन र संघर्षबाट सरकारमा पुगेको भन्दै कसैको कृपा वा आशीर्वादबाट सत्ता प्राप्त नगरेको जिकिर गरे।
‘संघर्षको मैदानबाट आएर लडेर जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौं । जनताको कृपाले गएका हौं,’ उनले भने, ‘अरु कुनै प्रतिक्रियावादी शक्ति, जनविरोधी शक्ति, देशद्रोही शक्तिका कृपा र आशीर्वादमा नेकपा एमाले सरकारमा गएको होइन।’
उनले एमाले पुनः सरकारमा पुग्ने दाबी गर्दै विपक्षीलाई आफ्नो भनाइ स्पष्टसँग सुन्न चुनौती दिए।
‘फेरि नेकपा एमाले सरकारमा जान्छ । कान खोलेर सुने हुन्छ । देश बनाउँछ नेकपा एमालेले। विकासका काम जुन अगाडि सारेको छ, नेकपा एमालेले ती विकासका कामलाई फेरि अगाडि बढाउँछ,’ ओलीले भने।
ओलीले एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यबाट पार्टी पछि नहट्ने पनि बताए। उनले उक्त सपना अझ स्पष्ट रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
