प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलाबीच भेट, भारत भ्रमणका एजेन्डाबारे छलफल
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
भेटमा प्रधानमन्त्रीले रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका थिए। साथै, आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूतसँग जानकारी लिएका थिए।
राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक तथा महत्त्वपूर्ण हुने बताए। उनले भ्रमणका एजेन्डा तय भइसकेको र त्यसलाई उपलब्धिमूलक बनाउन सम्बन्धित निकायबीच तीव्र रूपमा तयारी भइरहेको जानकारी गराए।
भेटमा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।
