कांग्रेसको महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गते खुलामञ्चमा उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशन दुई दिन पछि सारेको छ। यसअघि असोज १६ गतेदेखि गर्ने भनिएको महाधिवेशन अब असोज १८ गतेदेखि हुने भएको हो।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ।

कांग्रेसका अनुसार १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्। अहिले प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया चलिरहेको छ।

देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको कांग्रेसले जनाएको छ।

यही परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशनको उद्घाटन समारोह दुई दिन पछि सारिएको कांग्रेसले जनाएको हो।

कांग्रेसले विज्ञप्तिमार्फत १५औँ महाधिवेशनको उद्घाटन समारोह २०८३ असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा हुने जानकारी दिएको छ।