बाढी प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि अमेरिकाले थप ३१ मिलियन डलर दिने

काठमाडौं । अमेरिकाले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले न्यूयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको भेटवार्ताका क्रममा थप सहयोगको घोषणा गरेकी हुन्।

भेटका क्रममा हुकरले बाढीबाट प्रभावित नेपाली नागरिक तथा अझै सम्पर्कविहीन रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति समवेदना व्यक्त गरेकी थिइन्।

अमेरिकाले प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनःस्थापना तथा क्षेत्रीय सम्पर्क सुदृढ गर्न १० मिलियन डलर बराबरका स्थायी तथा आवश्यकताअनुसार निर्माण गर्न मिल्ने पुल उपलब्ध गराउने जनाएको छ। ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने जनाइएको छ।

त्यस्तै, प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन तथा हिउँदका लागि आवश्यक सहयोगलगायतका क्षेत्रमा थप ८ मिलियन डलर उपलब्ध गराइने भएको छ।

बाढीपछिको विपद् व्यवस्थापन तथा खोज–उद्धार कार्यलाई प्रभावकारी बनाउन अमेरिकामा निर्मित ड्रोन उपलब्ध गराउन १३ मिलियन डलर खर्च गर्ने योजना पनि अमेरिकाले सार्वजनिक गरेको छ।

यस घोषणासँगै नेपालको बाढी प्रतिकार्य तथा पुनःस्थापनाका लागि अमेरिकाले उपलब्ध गराउने कुल सहायता ३६ मिलियन डलरभन्दा बढी पुगेको अमेरिकी दूतावासले जनाएको छ।

अमेरिकाले नेपाल सरकारसँग सहकार्य गर्दै प्रभावित क्षेत्रको आवश्यकता पहिचानका आधारमा आगामी दिनमा समेत थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।