आज एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ । नेकपा एमालेको पुनर्गठन कार्यदल र सचिवालय बैठक आज बस्दैछ। केन्द्रीय कमिटी बैठकअघि पार्टी पुनर्गठन, निर्वाचन समीक्षा तथा बैठकमा प्रस्तुत हुने प्रतिवेदनलाई अन्तिम रूप दिन दुवै बैठक बस्न लागेको हो।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार पुनर्गठन कार्यदलको बैठक बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ। कार्यदलमा यसअघि पुनर्गठनसम्बन्धी दुई छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत भएकाले ती प्रतिवेदनलाई समेटेर साझा प्रतिवेदन तयार गर्ने विषयमा बैठक केन्द्रित हुनेछ।

कार्यदलको बैठकपछि आजै दिउँसो १ बजे सचिवालय बैठक पनि च्यासलमै बस्ने तय भएको छ। सचिवालय बैठकमा निर्वाचन समीक्षा, केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने प्रतिवेदन तथा पुनर्गठन कार्यदलको प्रतिवेदनलगायत विषयमा छलफल हुने जनाइएको छ।

यसअघि कार्यदलमा प्रतिवेदनका विषयमा साझा समझदारी बन्न नसकेकाले आजको बैठकबाट कस्तो निष्कर्ष निस्कन्छ भन्नेमा एमालेभित्र चासो देखिएको छ।

कार्यदल र सचिवालय बैठकपछि भोलिबाट एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुँदैछ। बैठक असोज ७ गतेसम्म सञ्चालन हुने तालिका पार्टीले सार्वजनिक गरेको छ।

प्रचार विभाग प्रमुख आचार्यका अनुसार केन्द्रीय कमिटी बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्नेछ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ।