भारतीय सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान
काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ।
समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानसेनापति अशोकराज सिग्देललगायत नेपाली सेनाका उच्च अधिकारीहरूको उपस्थिति थियो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि समारोहमा सहभागी थिए।
तीनदिने नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष सेठ आइतबार अपराह्न काठमाडौं आइपुगेका हुन्। प्रधानसेनापति सिग्देलको निमन्त्रणामा नेपाल आएका सेठले नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेका छन्।
जंगी अड्डामा आयोजित कार्यक्रममा उनले नेपाली सेनालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएका सैनिक तथा स्वास्थ्य सामग्रीको विस्तृत विवरण भने खुलाइएको छैन। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सामग्रीमा के–के समावेश छन् भन्ने यकिन हुन बाँकी छ।
नेपाल भ्रमणका क्रममा सेठले नेपाली सेनाको मुख्यालय जंगी अड्डा परिसरमा वृक्षारोपणसमेत गरेका छन्। त्यसअघि उनले सैनिक मञ्च टुँडिखेलमा माल्यार्पण गरेका थिए।
जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलसँग उनले शिष्टाचार भेटवार्ता गरेका थिए। जंगी अड्डा पुग्दा उनलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो।
नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परालाई दुई देशबीचको सैन्य सम्बन्धको महत्वपूर्ण पक्षका रूपमा लिइन्छ।
