इरानमाथिको सम्भावित हमला रोकियो, ट्रम्पले भने– ‘सम्झौताको खाका तयार, होर्मुज स्ट्रेट खुल्ने’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको ठूलो सैन्य हमला तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका छन्। इरान तथा मध्यपूर्वका केही मुलुकबाट आएको कूटनीतिक आग्रह र दुवै पक्षबीच प्रारम्भिक सम्झौताको खाका तयार भएपछि आक्रमण रोक्ने निर्णय गरिएको ट्रम्पले बताएका हुन्।

सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले अमेरिका इरानविरुद्ध व्यापक सैन्य कारबाहीका लागि पूर्ण रूपमा तयार रहे पनि कूटनीतिक समाधानलाई प्राथमिकता दिँदै हमला स्थगित गरिएको उल्लेख गरेका छन्।

उनले सम्झौतामा होर्मुज स्ट्रेट तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउने र इरानको आणविक कार्यक्रमसँग सम्बन्धित जोखिम अन्त्य गर्ने विषय समेटिएको दाबी गरेका छन्। ट्रम्पका अनुसार छिट्टै औपचारिक सहमति हुने अपेक्षासहित यो निर्णय गरिएको हो र यसमा इजरायल पनि अमेरिकासँग सहमत रहेको बताएका छन्।

यसैबीच, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले ट्रम्पसँग टेलिफोन संवाद गर्दै सम्भावित सैन्य कारबाही रोक्न र संयम अपनाउन आग्रह गरेका थिए।

अमेरिकी विदेशमन्त्रीको दाबी

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फक्स न्युजसँगको अन्तर्वार्तामा अमेरिकी सैन्य दबाबकै कारण इरान वार्ताका लागि तयार भएको दाबी गरेका छन्।

उनका अनुसार अमेरिकी कारबाहीबाट इरानको नौसेना, वायुसेना, मिसाइल प्रतिरक्षा प्रणाली तथा हतियार उत्पादन पूर्वाधारमा ठूलो क्षति पुगेको छ। यद्यपि इरानसँग अझै पनि मिसाइल र ड्रोन क्षमता रहेकाले खतरा पूर्ण रूपमा समाप्त नभएको उनले बताएका छन्।

इरानको प्रतिक्रिया

इरानले भने अमेरिकामाथि ‘दोहोरो चरित्र’ प्रदर्शन गरेको आरोप लगाएको छ।

इरानी सांसद तथा राष्ट्रिय सुरक्षा समितिका प्रवक्ता हसन घस्कवीले अमेरिकाले सार्वजनिक रूपमा युद्धको चेतावनी दिँदै आए पनि गोप्य माध्यमबाट वार्ताको पहल गरिरहेको बताएका छन्। उनले होर्मुज स्ट्रेटको सञ्चालन इरानको नीतिअनुसार हुने बताएका छन्।

अर्का सांसद इब्राहिम रेजाईले इरानमाथि हमला भए त्यसको जवाफ फारसको खाडीमा मात्र सीमित नरहने चेतावनी दिएका छन्।

त्यस्तै, इरान–चीन चेम्बर अफ कमर्सका अध्यक्ष मजिदरेजा हरिरीले देशभर फैलिएका १५० भन्दा बढी विद्युत् उत्पादन केन्द्रका कारण हवाई हमलाबाट सम्पूर्ण इरानलाई अन्धकारमा धकेल्न सम्भव नहुने दाबी गरेका छन्।

क्षेत्रीय तनाव अझै कायम

विश्लेषकहरूका अनुसार यसअघि भएको प्रारम्भिक समझदारीमा होर्मुज स्ट्रेटको व्यवस्थापनबारे स्पष्ट सहमति नहुँदा तनाव बढेको थियो। नयाँ सहमति औपचारिक रूपमा लागू नभएसम्म अवस्था पूर्ण रूपमा सामान्य हुने सम्भावना कम देखिएको छ।

यता वार्ताको प्रयास जारी रहे पनि पश्चिम एसियामा सैन्य गतिविधि भने रोकिएको छैन। अमेरिकाले इजरायलको बेन गुरियन विमानस्थलमा थप इन्धन भर्ने सैन्य विमान पठाएको छ भने उत्तरी इराकको सुलेमानियाहस्थित कुर्दिस पेसमर्गा मुख्यालयमा ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ।

यसैबीच, गाजाको देइर अल–बलाह र गाजा सिटीमा इजरायली सेनाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा पाँच जना प्यालेस्टिनीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

(एजेन्सीहरूको सहयोगमा)