भक्तपुर सडक डिभिजनका इन्जिनियर चौधरीविरुद्ध २.२६ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्रकुमार चौधरी र उनकी श्रीमती अर्पणाकुमारी चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले इन्जिनियर चौधरीले सार्वजनिक सेवामा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रूपमा २ करोड २६ लाख १३ हजार १३३ रुपैयाँ ३६ पैसा बराबरको अवैध सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ।
अनुसन्धानबाट चौधरीले आफ्नो वास्तविक सम्पत्तिको विवरण नखुलाई सम्पत्ति लुकाइछिपाइ झुटा विवरणसमेत पेश गरेको पुष्टि भएको आयोगको दाबी छ।
अख्तियारले चौधरीकी श्रीमती अर्पणाकुमारी चौधरीका नाममा खरिद तथा कायम गरिएका सम्पत्तिसमेत जफत गर्न माग गर्दै मुद्दा दायर गरेको जनाएको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) र (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम चौधरीलाई कैद, बिगोबमोजिम जरिवाना तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न विशेष अदालतसमक्ष मागदाबी गरेको छ।
