शेयर बजार सुधारका लागि मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव प्रधानमन्त्रीलाई

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सोमबार सिंहदरबारमा पुँजी बजार तथा धितोपत्र व्यवसायसँग सम्बन्धित सरोकारवाला निकाय र प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले व्यवसायीका जायज माग कार्यान्वयनका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र छलफल गरिने बताएका हुन्।

छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजी बजार समितिका सभापति तथा शेयर ब्रोकर प्रियराज रेग्मीका अनुसार प्रधानमन्त्रीले नयाँ समिति गठन गरेर समय खर्चिनुभन्दा सम्बन्धित निकायले तत्काल आवश्यक निर्णय र कार्यान्वयन अघि बढाउनुपर्ने धारणा राखेका छन्।

रेग्मीका अनुसार सरोकारवालाले लगानीकर्ताको मनोबल बढाउने, बजारमा आपूर्तिसँगै माग पक्षलाई पनि सन्तुलित बनाउने, कर प्रणालीमा रहेको अस्पष्टता हटाउने तथा घाटा समायोजन गरेपछि मात्रै कर लाग्ने व्यवस्था गर्न सुझाव दिएका छन्।

त्यसैगरी, नेपाल राष्ट्र बैंकले ब्रोकरमार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्न आवश्यक कानुनी तथा नियामकीय व्यवस्था गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्रीसमक्ष राखिएको उनले बताए।

छलफलमा सहभागीहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गरी प्रविधिमैत्री बनाउने, दक्ष जनशक्ति आकर्षित गर्ने तथा धितोपत्र बोर्डले १० कित्ते नीतिको पुनरावलोकन गर्दै योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए।

बैठकमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), स्टक ब्रोकर एसोसिएसन अफ नेपाललगायत पुँजी बजारसँग सम्बन्धित विभिन्न निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो।