चलचित्र क्षेत्र प्रवर्द्धनमा सरकारले आवश्यक सहयोग गर्ने : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन र विश्व बजारमा पहुँच विस्तारका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलसँग भएको शिष्टाचार भेटमा मन्त्री तिमिल्सिनाले नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्न सरकार सकारात्मक रहेको बताएका हुन्।

उनले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नागरिकस्तरको सम्बन्ध विस्तार र पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे। आपसी हित र साझा लाभका आधारमा आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।

मन्त्री तिमिल्सिनाले चीन नेपालका लागि प्रमुख पर्यटक स्रोत मुलुकमध्ये एक भएको उल्लेख गर्दै नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने बताए।

भेटमा चिनियाँ प्रतिनिधिमण्डलका नेता तथा ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुले नेपाललाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र चलचित्र छायांकनका लागि उत्कृष्ट गन्तव्यको रूपमा वर्णन गरे। उनले चलचित्र निर्माणसँगै सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन र नागरिकस्तरको सम्बन्ध सुदृढ गर्न यस्ता अन्तर्राष्ट्रिय कार्यक्रम प्रभावकारी हुने बताए।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालका अनुसार ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’ नेपाल र चीनबीच चलचित्र तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले सञ्चालन गरिएको द्विपक्षीय पहल हो। महोत्सवले नेपाली चलचित्रलाई चिनियाँ बजारसँग जोड्ने महत्वपूर्ण मञ्चका रूपमा काम गरिरहेको उनले बताए।

उनका अनुसार सन् २०२६ अप्रिल १४ देखि १९ सम्म चीनको हुनान प्रान्तका चाङ्सा र हेङयाङ सहरमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७१औँ वर्षको अवसरमा महोत्सव आयोजना गरिएको थियो। महोत्सवका लागि नेपालबाट २३ वटा चलचित्र आवेदन परेकामा ११ वटा प्रारम्भिक छनोटमा परेका थिए।

चिनियाँ सेन्सर प्रक्रियापछि ‘अञ्जिला’, ‘छक्का पञ्जा ५’, ‘तेल भिसा’, ‘महाजात्रा’, ‘कबड्डी ४’ र ‘होस्टेल ३’ गरी छ वटा नेपाली चलचित्र प्रदर्शनका लागि स्वीकृत भएका थिए। ती चलचित्र चिनियाँ सबटाइटलसहित चाङ्सा र हेङयाङका चलचित्र हलमा प्रदर्शन गरिएको दाहालले जानकारी दिए।

महोत्सवमा पुरस्कृत चलचित्रहरूको पुरस्कार वितरण कार्यक्रम मंगलबार (साउन ५) काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने पनि उनले बताए।