सरकार सिंहदरबारमा मात्रै होइन, सुकुम्बासी र निराश युवाको बीचमा पनि देखिनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशमा बढ्दो निराशा, आत्मदाहका घटना र सुकुम्बासीको दयनीय अवस्थाप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। उनले यी विषयलाई सत्ता–प्रतिपक्षको राजनीतिक विवादका रूपमा नभई समाजमा आशा जगाउने साझा दायित्वका रूपमा लिन आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा शर्माले विकट गाउँबाट काठमाडौं आएका गणेश नेपालीको आत्मदाहदेखि कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बालबालिकासहितका परिवारले भोगिरहेको कठिन अवस्थासम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले वर्षायाममा विस्थापित गरिएका सुकुम्बासीहरू आफ्नै देशभित्र शरणार्थीजस्तै कष्टकर जीवन बिताउन बाध्य भएको टिप्पणी गर्दै उनीहरूको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरे।

शर्माले अहिले सरकारको आलोचना मात्र गर्नेभन्दा पनि समाजमा आशा जगाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए। उनले प्रेम आचार्य र गणेश नेपालीका आत्मदाहका घटनालाई स्मरण गर्दै समाजमा निराशा किन बढ्दै गएको र नागरिकको आशा किन कमजोर बन्दै गएको भन्ने प्रश्न गम्भीर रूपमा उठाउनुपर्ने धारणा राखे।

उनले होल्डिङ सेन्टरमा कुनै पनि नागरिक भोकै बस्न नपरोस् र फेरि कसैले आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना नहोस् भन्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे। यस्ता मानवीय विषयमा नेपाली कांग्रेस सरकारसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।

सुकुम्बासीको पक्षमा आवाज उठाउन होल्डिङ सेन्टर पुगेका युवाहरूलाई हिरासतमा राखिएको विषयप्रति पनि शर्माले असन्तुष्टि व्यक्त गरे। उनले समस्याको समाधान संवाद र संवेदनशीलताबाट खोजिनुपर्नेमा जोड दिए।

शर्माले सरकार सिंहदरबार वा संसद्मा मात्र सीमित नभई समस्यामा परेका नागरिकबीच पुग्नुपर्ने आवश्यकता औँल्याउँदै भने, सरकार नागरिकको बीचमा उपस्थित भएर उनीहरूलाई राज्य साथमा रहेको अनुभूति गराउन सक्षम हुनुपर्छ।