जग्गा विवादमा रौतहटमा चक्कु प्रहार, एक जनाको मृत्यु, बुबा–छोरा पक्राउ
रौतहट । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गाको स्वामित्वको विवादले उग्र रूप लिँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ भने घटनामा संलग्न आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार राति करिब ८ बजे स्थानीय रामबहादुर साह, बुटन साह तथा रामऔतार साह र उनका छोरा रामेश्वर साहबीच जग्गाको विषयलाई लिएर विवाद भएको थियो। भनाभनपछि झडपमा परिणत भएको घटनामा रामेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
चक्कु प्रहारबाट बुटन साहको ढाडमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिए पनि राति करिब ९ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिए।
घटनामा रामबहादुर साहको टाउकोमा पनि चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि खटिएको प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न रहेको आरोपमा रामेश्वर साह र उनका बुबा रामऔतार साहलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
