डेडिकेटेड र ट्रङ्क लाइनका सम्बन्धमा ऊर्जामन्त्रीसंग समितिले जानकारी लिने
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले डेडिकेटेड र ट्रङ्क लाइनका सम्बन्धमा ऊर्जामन्त्रीसंग जानकारी लिने भएको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले डेडिकेटेड र ट्रङ्क लाइन, नेपाल भारत विद्युत् व्यापारसम्बन्धी सम्झौता लगाएतका बिषयमा ऊर्जामन्त्रीसंग छलफल गर्ने निर्णय गरेको हो । बैठकमा विद्युत् व्यापार विधेयक, २०८० लाई बिषयमा पनि छलफल भएको थियो ।
सो बिषयमा पनि समितिले बिज्ञहरुसंग छलफल गर्ने जनाएको छ । बैठकमा समिति सदस्यहरुले उद्योगी र सरकारबीचको डेडिकेटेड र ट्रङ्क लाइन विवाद समितिको सरोकारको बिषय भएकाले समितिले मन्त्रीसंग छलफल गर्नुपर्ने धारणा राखेका थिए । समिति सदस्य माधव सापकोटाले मन्त्रीसंगै आवश्यक कागजात पनि मगाउनुपर्ने र साझा चासोको बिषयमा छलफल गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै समिति सदस्य प्रदीप पौडेलले विद्युत् व्यापार विधेयकका सन्दर्भमा संशोधनकर्ताका साथै विज्ञहरुसंग छलफल गर्नुपर्ने बताउनुभयो । उहाले समितिमा परेका उजुरीलाई अध्ययन गर्दै प्रभावकारी रुपमा छलफल चलाउनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै बैठकले पूर्वाधारका कामलाई समयमानै सम्पन्न गर्न आवश्यक सुुझाव तयार गर्ने उदश्यकले कार्यदल समेत बनाउने निर्णय गरेको छ ।
