करको कर्मचारी भन्दै सरकारी पोसाक लाएरै होटल र पसलबाट असुली गर्ने पक्राउ
काठमाडौं । आन्तरिक राजस्व विभागका कर्मचारी भन्दै सरकारी पोसाक लगाएर होटल र पसलहरुबाट पैसा उठाउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विभागको ड्रेस कोड, नक्कली परिचय पत्र लगाएर काठमाडौँको नयाँ बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट र पसलबाट रकम असुल गरेको आरोपमा पक्राउन परेका ८ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सार्वजनिक गरेको हो ।
होटल, रेष्टुरेन्ट र पसलले कर नतिरेको भन्दै रकम असुली रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथर फिदीमकी सिर्जना भट्टराई, अछामकी सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ परेकाहरूबाट राजस्व कार्यालयका स्ट्याम्प, लेटरप्याड लगायत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले जानकारी दिएका छन् ।
बोहराले विगत ४ दिन देखि बसपार्क इलाकामा विभिन्न होटल लज,पसलहरू तथा फुटपाथ पसलहरूबाट समेत विभिन्न परिमाणमा रकम असुल गरेको भन्ने बुझिन आएको र पीडितहरूबाट प्राप्त रसिद र मोबाइल–पेबाट समेत गरी ५ लाख भन्दा बढी संकलन गरेको खुल्न आएको पनि बताएका छन् ।
