प्रचण्ड समूहद्वारा नेम्वाङसहित सात जनालाई कारवाही, कारवाहीको अर्थ छैन : ओली समूह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले सुवास नेम्वाङसहित सातजनालाई पार्टीबाट बारवाही गरेको छ ।
पार्टीको पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले नेम्वाङ्गलाई स्थायी समिति र उपनेताबाट ६ महिनाका लागि निलम्वन गरेको छ भने विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको बताइएको छ ।
संसदीय दलको उपनेताबाट हटाइएका नेम्वाङले सबै निर्णयलाई हार्दिकतापूर्वक लिने प्रतिक्रिया दिएका छन्।
प्रचण्ड–माधव पक्षको निर्णयप्रति व्यंग्य गर्दै गर्दै नेम्वाङले भनेका छन् “हटाउन मिल्ने भएरै हटाउनु भएको होला, मलाई संसदीय दलले चुनेको हो । त्यो चाहिँ सम्झना छ। अरु बारेमा मेरो कुनै टिप्पणी छैन ।”
त्यस्तै नेकपाका प्रमुख सचेतक समेत रहेका विशाल भट्टराईले प्रचण्ड–माधव पक्षको निर्णयको कुनै अर्थ नरहेको बताएका छन् । उनले आफूहरूलाई गरिएको कारबाही डेरावालले घरवालालाई निकालेको जस्तो मात्र भएको टिप्पणी गरेका छन् ।
प्रचण्ड–माधव पक्षको कारबाहीलाई आफूले सामान्य रुपमा लिएको बताउँदै भट्टराईले यसको कुनै प्रतिवाद गर्न आवश्यक नभएको टिप्पणी गरेका छन् ।