इस्माका एक होटल व्यवसायीको हत्याप्रति जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र हस्तान्तरण

होटल व्यवसायी मोती बहादुर कँुवरको हत्याप्रति होटल व्यवसायी मञ्च गुल्मीले जिल्ला प्रशासन कार्यालयको गम्भिर ध्यानाकर्षण गराएको छ । जिल्लाको इस्मा गाउँपालिका–१ छिनुवा खोलास्थित होटल व्यवसायी कुवँरको गत भदौ २१ गते राति आफ्नै होटलमा बसिरहेका बेला मरणासन्न हुने गरी अज्ञात व्यक्तिहरुद्वारा कुटपिट भएको थियो ।

कुटपिट भएको भोलिपल्ट उहाँका दाजु यमबहादुर कुवँर घरबाट होटलमा आउँदा भाइलाई गम्भीर घाइते अवस्थामा देखेपछि स्थानीय सुरक्षा निकायलाई खबर गरी छिमेकीको सहयोगमा तम्घास अस्पताल ल्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो । सोही घटनालाई लिएर बुधबार प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मालाई ज्ञापनपत्र हस्तान्तरण गर्दै मञ्चले गम्भिर ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्र हस्तान्तरणका अवसरमा होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष भेषराज कंडेलले कोरोनाले आक्रान्त बनाई रहेको बेला होटल व्यवसायीको हत्या हुनुले जिल्लाका सम्पूर्ण होटल व्यवसायी आतङ्कित र त्रसित भएको बताउनुभयो । उहाँले अभिलम्ब अनुसन्धान गरी हत्यारा पत्ता लगाई कानुन बमोजिम कारवाही गर्न माग गर्दै सम्पूर्ण व्यवसायीहरुको सुरक्षाको प्रत्याभूति गर्न ध्यानकर्षण गराउनुभयो ।

ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले त्यस घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो । प्रजिअ शर्माले घटनाको छिटो भन्दा छिटो कुनै कसर बाँकी नराखी अनुसन्धानका लागि नेपाल प्रहरीलाई निर्देशन दिइसकेको बताउनुभयो । व्यवसायीहरुको सुरक्षाका लागि आगामी दिनमा प्रशासनले गम्भिरतापूर्वक हेर्ने बताउँदै यसका लागि सुरक्षा नियकाहरुलाई परिचालन गरिने बताउनुभयो ।