चितवनमा बस र ट्रक ठोक्किँदा चार जनाको मृत्यु, १७ घाइते
नारायणघाटः चितवनमा गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ भो १७ जना घाइते भएका छन् ।
पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ५९४१ नंको ट्रक र काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ६ ख १७४१ नंको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१० भानुचोकमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा ट्रक चालक ३४ वर्षीय मोहन घिसिङ, ट्रकका सहचालक ३० वर्षीय बुद्धिमान लामा, बसमा सवार काठमाडौँ थानकोटका ४८ वर्षीय विष्णुप्रसाद थापा र ताप्लेजुङ खुम्लिङ नगरपालिका– १ का ४२ वर्षीया तारा बराल रहेको प्रहरीले जनाएको छ ।
इँटा बोकेर फर्किँदै गरेको ट्रक बससित ठोक्किएको थियो । मृतक चारै जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेजमा तथा चार जनाको चितवन मेडिकल कलेमा उपचार भइरहेको छ।
