केपी ओलीले न्यायपालिकामा अतिक्रमण गरेः कांग्रेस
काठमाडौं- नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपालिकामाथि अतिक्रमण गरेको निष्कर्ष निकालेको छ।
मंगलबार बसेको पार्टी बैठकले प्रधानमन्त्री पदको प्रतिष्ठा र जिम्मेवारी विपरित प्रधानमन्त्री ओलीले दुराशयपूर्ण तवरबाट आफैं सिफारिस गर्ने, आफैं अस्वीकृत गराउने दोहोरो भूमिका गरेको कारण प्रधानन्यायाधिश नियुक्तिको प्रक्रिया दुर्घटनामा परेको निष्कर्ष निकालेको हो।
कांग्रेस पार्टी कार्यलय सानेपामा बैठकले सो दुर्भाग्यपूर्ण घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निस्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण र नियन्त्रणकारी हस्तक्षेपका रुपमा लिदै नेपाली कांग्रेसले आगामी दिनमा लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, संविधान, संवैधानिक सर्वोच्चता र न्यायापालिकाको स्वतन्त्रता एवं निष्पक्षता रक्षा गर्न अझ बढी गम्भीरताका साथ क्रियाशील रहने निर्णय गरेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले पद र प्रतिस्ठाको मर्यादा नराख्दा प्रधानन्यायाधीश प्रकरणमा ठूलो दुर्घटना भएको बताए ।
‘न्याय परिषद् र संवैधानिक परिषद्को सर्वसम्मत सिफारिस गरेर प्रधानमन्त्रीले आफ्नै निर्णय उल्टाउनुभयो’, उनले भने, ‘प्रधानमन्त्रीले स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गर्नुभएको छ ।’ संवैधानिक परिषद् र न्यायपालिकाले व्यक्तिको सिफारिस गर्दा सबै अभिलेख राखेर प्रस्ताव गर्नुपर्नेमा हचुवाको भरमा निर्णय गर्ने परम्पराले दुर्घटना भएको शर्माले बताए ।
प्रवक्ता शर्माले प्रधानन्यायाधीशमा प्रस्तावित भएर अस्वीकृत भएका दीपकराज जोशीको मागअनुसार प्रमाणपत्रको छानविनका लागि माग गर्ने निर्णय भएको जानकारी दिए । ‘दीपकराज जोशीको प्रमाणपत्र छानविन हुनुपर्छ’, उनले भने, ‘प्रमाणपत्र नक्कली छ भने दण्डित गर्नुपर्छ ।
कांग्रेसले संघीय संविधान अनुसार कानून र कार्यविधिहरू बनाउन पनि माग गरेको छ । संविधानसँग बाुझिने गरेर रहेका ऐन, कानून र कार्यविधिलाई छिटोभन्दा छिटो बनाउन आग्रह गर्ने निर्णय बैठकमा भएको थियो ।
साथै कांग्रेसले पार्टीको संगठनमा सक्रिय योगदान पुर्याएका नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका सभापति एवं पूर्व सांसद कमलप्रसाद पंगेनीको भएको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ।
त्यस्तै नेपाली कांग्रेस नुवाकोटका पूर्व महासमिति सदस्य विष्णु आचार्यको भएको असामयिक निधन र गत श्रावण ९ गते भएको नेपाली कांग्रेस संखुवासभाका महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला विकास समितिका सभापति भैरुङ्ग धर्चे भोटेको निधनप्रति मंगलबारको बैठकमा दुःख व्यक्त गरेको छ ।
