मन्त्री छान्दै कांग्रेस !
छायामन्त्री बन्न हानाथाप
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अझै पनि आफ्नो स्पष्ट मार्गचित्र बनाउन सकेको देखिदैन । हरेक सभा, सम्मेलन, गोष्ठी र केन्द्रीय समिति वैठकमा पनि आन्तरिक गुटबन्दी र सत्तारुढ दलको आलोचना वाहेक जनतालाई आकर्षित गर्ने नवीन विषय ल्याएको पाइदैन । शुक्रबार सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमका बारेमा पनि कांग्रेसले हल्का टिप्पणी मात्र गरेको छ । नीति कार्यक्रमका विषयवस्तुको अध्ययन यो राम्रो, यो नराम्रो, यो कार्यान्वनय हुन सक्छ, यो हुन सक्दैन लगायतका विषयमा समीक्षात्मक टिप्पणी गर्नुपर्ने कांग्रेस राष्ट्रपतिले मेरो सरकार भन्नु गलत भन्ने मै अल्झिएको छ ।
पार्टीको भावी कार्यक्रमबारे जनतालाई जानकारी दिएर मततादालाई आकर्षिक गर्दै लानुपर्नेमा सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको आलोचनामा मात्रै अधिकांस समय विताउँदै आएका छन् । देउवाले सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही नभएको भनी टिप्पणी गरेका छन् ।
नीति कार्यक्रममा नयाँ कुरा केही नभएको बताउँदै देउवाले सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भन्नु गलत भएको टिप्पणी गरेका छन् ।
काङ्ग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई जनताका इच्छा र आकांक्षा पूरा गराउने भन्दा पनि पार्टीको चुनावी घोषणापत्र जस्तो आएको टिप्पणी गरेको छ । नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका थुप्रै विषय उल्लेख गरिए पनि सम्पन्न गर्ने आधार नदेखिएको काङ्ग्रेसको आरोप छ ।
काङ्ग्रेसले संविधानले ज्ञारेण्टी गरेका मौलिक अधिकारलाई नीति कार्यक्रममा सुनिश्चिता नगरिएको र सङ्घीयतालाई सवल बनाउने आधारशीला पनि नभएको टिप्पाणी गरेको छ ।
कांग्रेसका जुन नेताले जहाँ भाषण गरेपनि सरकारले केही गरेको छैन, जनतालाई दुःख दिने र कर असुल्ने मात्र काम गरेको आरोप लगाएपनि केही राजनीतिक विश्लेषकहरुले जनताले भोग्नु परेका समस्या र त्यसका समाधानमा नेपाली कांग्रेस आफू सत्तामा बस्दा के गरेको थियो भन्ने प्रश्न गर्न थालेका छन् । २०४७ सालपछि ६७ प्रतिशत कालखण्ड नेपाली कांग्रेसको नेतृत्वमा चलेको थियो भने त्यसबेला दर्जनौ सरकारी उद्योगहरु कौडीको मोलमा बेचेर कांग्रेसको सरकारले दशौं हजार मजदुरलाई बेरोजगार बनाएको थियो ।
नयाँ पुस्ताले पार्टीको रचनात्मक काम राष्ट्र र जनताको हितमा के गरिरहेको छ भन्ने कुरा सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट तत्काल थाहा पाउने हुँदा नेताको भाषणले कार्यकर्ता मात्र बढी प्रभावित हुने देखिन्छ । तसर्थ जनताका समस्यालाई मुखरित गर्दै समाधानको बाटो देखाउन कांग्रेस असफल भएमा उसका लागि आउँदा दिनहरु समेत त्यति उत्साहजनक हुन सक्दैन ।
यसैवीच कांग्रेसले छाया सरकार गठनको तयारी गरेसँगै मन्त्री बन्न हानाथाप शुरु भएको छ । सरकारका कृयाकलापको निगरानी गर्ने उद्देश्यले कांग्रेसले छाया सरकार बनाउने जनाएको छ । आफ्ना पार्टीका सांसदहरुबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेपछि सुचिमा नपरेकाहरु असन्तुष्ट बनेको बुझिएको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने कांग्रेसको तयारी छ ।
ज्ञानेन्द्र कार्की– भौतिक पूर्वाधार, डा. मिनेन्द्र रिजाल – अर्थ, दिलेन्द्रप्रसाद बडू– गृह, डा. नारायण खड्का – परराष्ट्र, भीमसेनदास प्रधान – रक्षा, उमाकान्त चौधरी – स्वास्थ्य तथा जनसंख्या, मीन विश्वकर्मा – आपूर्ति, गगन थापा – विज्ञान तथा प्रविधि, उमा रेग्मी – महिला, बालबालिका, जितेन्द्रनारायण देव – सूचना, सञ्जय गौतम – ऊर्जा तथा सिँचाइ, किहोरसिंह राठौर – वन तथा वातावरण, मानबहादुर विश्वकर्मा – सामान्य प्रशासन, देवेन्द्रराज कँडेल – पर्यटन, डा. डिला संग्रौला – कृषि, अख्तर कमाल मुसलमान – कानुन, बहादुरीसिंह लामा – सहरी विकास, राजेन्द्रकुमार केसी – युवा तथा खेलकुद, बद्री पाण्डे – खानेपानी, पार्वता डिसी चौधरी – श्रम तथा रोजगार, सुजता परियार– भूमि व्यवस्था मन्त्री बनाउने प्रस्ताव तयार भएको एक नेताले बताएका छन् ।
प्रस्तावित नामहरुलाई सभापति देउवाले अन्तिम टुंगो लगाएपछि छाया सरकार घोषणा गर्ने बताइएको छ । माथि प्रस्तावित नेताहरुको मन्त्रालय हेरफेर हुन सक्ने तर मन्त्री उनीहरु नै बन्ने ती नेताले बताएका छन् ।
