इटहरीबाट भैरहवातर्फ आउँदै गरेको बस अरुणखोला नजिक दुर्घटना
नवलपरासी- इटहरीबाट भैरहवाकातर्फ आउँदै गरेको लु १ ख ८४५४ नम्बरको बस अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको थियो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११, अरुणखोला नजिक आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाउने ५ जनाकै सनाखत भएको छ ।
घटनामा मृत्यु हुनेमा गुल्मीको हस्तिचौर गाउपालिका–२ घर भइ नेपाली सेनाको मोरङ लेटाङ्ग गणमा कार्यरत ३५ वर्षीय तिलक विष्ट, मोरङको सुन्दरचौरका ११ वर्षीय सोहन कार्की, भोजपुरका २७ वर्षका रामजीत राई, सुनसरी घर भइ जिल्ला जनस्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीया अब्दुल अन्सारी र भारत बिहारका विद्यान्नद यादव रहेका छन् ।
दुर्घटनामा १६ जना घाइते भएका थिए । प्रहरीले दिएको जानकारी अनुसा बसमा क्षमताभन्दा बढी यात्रु सवार थिए । प्रहरीका अनुसार ४० जना यात्रु बोक्ने क्षमताको भएको उक्त रात्री बसले ५२ जना यात्रु बोकेको थियो ।
दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रु बसमा खचाखच थिए । प्रारम्भिक अनुसन्धानमा बसका चालक निदाउँदा दुर्घटना भएको देखिएको प्रहरीको भनाइ छ । दुर्घटना भएको बस पश्चिम नेपाल बस व्यवसायी समिति बुटवलको हो ।
