आज कुशेऔँसी अर्थात बाबुको मुख हेर्ने दिन

काठमाडौं- आज कुशेऔँसी अर्थात बुबाको मुख हेर्ने दिन । आजको दिन देवकार्य र पितृकार्यका लागि वर्षभरि आवश्यक पर्ने कुश काटेर राख्ने परम्परा छ।

प्रत्येक वर्षको भाद्रकृष्ण औँसीका दिन पर्ने यो दिन घरघरमा कुश भित्र्याउनुका साथै आफ्ना बुबाको मुख हेर्ने र विभिन्न परिकार खुवाउने प्रचलन छ ।

यसरी राखिएको कुशले वर्षभर घरको रक्षा गर्छ भन्ने विश्वास गरिन्छ। यसरी राखिएको कुश वर्षभरि पर्ने मांगलिक पितृकार्यलगायतमा प्रयोग गर्ने चलन छ। कुशको प्रयोग आयुर्वेदमा समेत हुन्छ।

त्यस्तै आजको दिन छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई खुवाएर तथा उपहार दिएर सम्मान आदरभावका साथ मुख हेर्ने चलन प्राचीन कालदेखि चलिआएको छ ।

काम विशेषले टाढा रहेका छोराछारीले बुबासँग भेट्ने दिनका रूपमा यसको महत्त्व रहेको छ। पिता नभएकाहरूले उनको स्मृतिमा श्राद्ध गर्ने परम्परा छ।

मोती जयन्ती

यसैबिच नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती आइतबार देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)का दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रूपमा मनाइने गरिएको हो ।

श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान र्पुयाएका भट्टले कथा, नाटक र निबन्धसमेतको रचना गरेका थिए । ३० वर्षकै अल्पायुमा विसं १९५३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी) कै दिन निधन भएका भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ । थोरै बाँचेर पनि नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान दिएका भट्टले विसं १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याएका थिए ।