महाधिवेशनलाई पार्टी एकताबद्ध बनाउने अवसरका रूपमा लिनुपर्छ : डा. शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको महाधिवेशनलाई नेतृत्व चयन गर्ने प्रतिस्पर्धासँगै संगठनलाई एकताबद्ध बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

बिहीबार देउवा पक्षको पर्सा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा स्वाभाविक भए पनि पार्टीभित्र एकताको भावना कायम राख्नुपर्नेमा जोड दिए ।

उनले कांग्रेस एकताबद्ध भए कुनै शक्तिले कमजोर बनाउन नसक्ने दाबी गर्दै अधिवेशनलाई सबै नेता तथा कार्यकर्ताबीच सहकार्य र आपसी सहयोग बढाउने माध्यम बनाउनुपर्ने बताए ।

वडादेखि केन्द्रसम्मका अधिवेशनलाई पार्टी एकताको अभियानका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो । पद एउटै हुने र आकांक्षी धेरै हुने अवस्थामा पनि सबैलाई समेटेर अघि बढ्न सके संगठन बलियो हुने उनले बताए ।

कोइरालाले २०३३ सालमा बीपी कोइराला स्वदेश फर्कने निर्णय गर्दा गणेशमान सिंहले फरक मत राखे पनि अन्ततः नेताको निर्णय स्वीकार गरेको प्रसंग सुनाउँदै पार्टीभित्र फरक मत भए पनि नेतृत्व र निर्णयको सम्मान गर्ने संस्कारले एकता कायम हुने बताए ।

उनका अनुसार आपसी मतभेदलाई व्यवस्थापन गर्दै पार्टी निर्णयको सम्मान गर्ने परम्परा विकास गर्न सके कांग्रेसलाई थप सुदृढ बनाउन सकिन्छ ।