भदौ २४ मा राज्य संयन्त्रले साथ दिएन : ओली
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राज्य संयन्त्रले आफूलाई साथ नदिएको बताएका छन् । तत्कालीन प्रधानमन्त्री ओलीले बिहीबार काठमाडौंमा सम्पादकहरूसँगको छलफलमा भदौ २४ को घटनाबारे आफ्नो धारणा राखेका हुन् ।
भदौ २३ गते भएको जेनजी आन्दोलनमा युवाहरूको ज्यान गएपछि भोलिपल्ट संसद् भवन, सिंहदरबारलगायत सरकारी संरचनामा आगजनी भएको थियो । उक्त दिन राज्य संयन्त्रले साथ नदिएको भन्दै ओलीले आफूले के गर्न सक्थे भन्ने प्रश्न गरेका छन् ।
‘भदौ २४ गते राज्य संयन्त्रले साथ दिएन,’ उनले भने, ‘राज्य संयन्त्रले साथ नदिएपछि प्राइममिनिस्टरले के गर्छ ?’
त्यसपछि गठन भएको सरकार आफूले सिफारिस नगरेको पनि ओलीले स्पष्ट पारे । सुशीला कार्कीलाई आफूले प्रधानमन्त्रीमा सिफारिस गरेको र संसद् विघटनसमेत आफ्नै सिफारिसमा भएको भन्ने प्रचार झुटो रहेको उनको दाबी छ ।
ओलीले संकटका बेला आफूले राष्ट्रपतिलाई संविधान मिच्न नहुने र संवैधानिक बाटोबाटै समाधान खोज्न आग्रह गरेको बताए । संविधानबाहिर गएर कुनै निर्णय गर्न नहुने आफ्नो अडान रहेको उनले सुनाए ।
उनका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोक राज सिग्देलले समेत संविधानको धारा उल्लेख गर्न आग्रह गरेका थिए । तर, संविधानमा त्यस्तो व्यवस्था नै नभएको भन्दै आफूले धारा खुलाउन नसकेको ओलीले बताए ।
नेपालको संविधान २०७२ अनुसार प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री बन्नुपर्ने व्यवस्था रहेको र पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री नियुक्त गर्ने स्पष्ट व्यवस्था नरहेको विषयसमेत उनले उठाए ।
