सुनकोसी–मरिण ठेक्का रद्द प्रकरणमा प्रधानमन्त्रीको टिममाथि छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द प्रकरणमा प्रधानमन्त्री कार्यालयको भूमिकामाथि स्वतन्त्र तथा निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

आङ्देम्बेले आयोजनाका कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक दबाब दिँदै ठेक्का रद्द गराइएको आरोप लगाएका छन् । पर्याप्त कानुनी आधारबिना कर्मचारीमाथि दबाब दिएर निर्णय गराइएको भन्दै उनले सरकारी कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।

सार्वजनिक लेखा समितिले समेत यस प्रकरणमा चासो देखाउँदै सरकारसँग ठेक्का रद्दसम्बन्धी कागजात माग गरेको स्मरण गराउँदै उनले प्रधानमन्त्री कार्यालयका पदाधिकारीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

उनका अनुसार सुनकोसी–मरिण आयोजनाको ठेक्कामा ६ वटा कम्पनीले बोलपत्र पेस गरेका थिए । तीमध्ये तीन कम्पनी प्राविधिक मूल्यांकनमा उत्तीर्ण भएपछि आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा दबाब दिई ठेक्का रद्द गरिएको थियो ।

मधेसका पाँच जिल्लाका करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने तथा २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको यो राष्ट्रिय गौरवको आयोजना हो । आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु भइसकेको अवस्थामा ठेक्का रद्द हुनु दुर्भाग्यपूर्ण भएको आङ्देम्बेको भनाइ छ ।

‘ठेक्का रद्द गर्ने अधिकार सरकारसँग होला, तर कानुन कुल्चिने अधिकार छैन,’ उनले भनेका छन्, ‘यस घटनामा प्रधानमन्त्री कार्यालयको भूमिका र निर्णय प्रक्रियाबारे स्वतन्त्र तथा निष्पक्ष छानबिन हुनुपर्छ।’

उनले मधेसको विकासलाई राजनीतिक प्रतिशोधको विषय बनाउन नहुने भन्दै सरकारलाई जवाफदेही बन्न आग्रह गरेका छन् । साथै, आयोजनाको भविष्य र जनताको हितसँग जोडिएको विषयमा सरकारले मनपरी गर्न नपाउने उनको भनाइ छ ।